इटहरी । भौगोलिक रुपमा विकट मानिने भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङमा केन्द्रीय विद्युत् विस्तार भएको छ । विगतमा टुकी बत्तीको भरमा रात कटाउँदै आएका यहाँका ८५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत् विस्तार भएको हो । केन्द्रीय विद्युत् विस्तार भएपछि यहाँका नागरिकको वषौँदेखीको टुकीको साहारामा रात कटाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । वषौँबाट टुकी तथा सोलारको उज्यालोमा जीवन गुजारा गरिरहेको अवस्थामा विद्युत्को केन्द्रीय लाइन विस्तार भएपछि दैनिकीमा परिवर्तन आएको स्थानीयवासी सिंहबहादुर तामाङले बताउनुभयो । विद्युत् विस्तारले उज्यालोसँगै कुटानी,पिसानी तथा दैनिक कामकाजमा सहज भएको उहाँको भनाइ छ ।
अँध्यारोमा रात काट्नुपर्ने अवस्थामा अहिले विद्युतीय उपकरण जडान गरेर काम गर्नसक्ने वातावरण निर्माण भएको उहाँको भनाइ छ । भौगोलिक रुपमा विकट रहेकाले धेरै प्रयासपछि यहाँका ८५ प्रतिशत नागरिकमा केन्द्रीय विद्युत् विस्तार गर्न सफल भएको वडाध्यक्ष पेमदोर्चीे शेपाले बताउनुभयो । निर्वाचनमा स्थानीयलाई विद्युत्को उज्यालोमा राख्छु भनेर गरेको प्रतिबद्धता पूरा हुने चरण पुगेको उहाँको भनाइ छ । आफू वडाको जिम्मेवारीमा आउँदा केही स्थानमा मात्र विद्युत् पुगेको अवस्थामा अहिले अधिकांश गाउँमा विद्युत् विस्तार गर्न सफल भएको उहाँको भनाइ छ ।
सीमित स्रोत साधनको अधिकतम उपयोग गर्दै विद्युत् विस्तारमा प्राथमिकताका साथ काम गरिरहेको वडाध्यक्ष शेर्पाको भनाइ छ । नौ सय ४१ घरपरिवार रहेको यो वडाको कुल जनसङ्ख्या तीन हजार दुई सय ८३ छ ।


