मौसम कोइराला

इटहरी । धेरैलाई सर्प देख्नासाथ ज्यान जोगाउन भाग्ने बानी छ। तर मोरङ उर्लाबारी–१ की सम्झना राई भने यस्ता अपवाद पात्र हुन्, जसले अहिलेसम्म झन्डै तीन सय सर्पको उद्धार गरिसकेकी छिन्। साङ्लो, अजिङ्गर, गोमनदेखि धामिन र घोडे साँपसम्मको उद्धार गर्दै उनले आफूलाई एक साहसी सर्प उद्धारकर्ताका रूपमा स्थापित गरेकी छन्। सङ्खुवासभाको खाँदवारीमा जन्मिएकी राई दुई वर्षअघि सर्पसँगको सहजीवन र संरक्षणको अवधारणा बोकेर उद्धार कार्यमा होमिएकी हुन्। सुरुमा उनलाई सामाजिक तिरस्कार, परिवारको चिन्ता र उपकरणको अभावजस्ता चुनौतीहरू थिए। तर अहिले उनी सर्पप्रति सचेतना फैलाउने अभियानमै क्रियाशील छिन्।

२० वर्षको उमेरदेखि सर्प उद्धारमा लागेकी सम्झनाले सुरुआती दिनमा मानिसहरूको तिरस्कारपूर्ण व्यवहार, उपहास र असहयोग खेपिन्। महिलाले सर्प समाउन मिल्दैन भन्ने सोच उनीमाथि प्रहार स्वरूप आइरहन्थ्यो।  उनी भन्छिन्, सुरुमा परिवारले समेत डर मान्यो। तर उनले जब जिम्मेवारीपूर्वक उद्धार गर्न थालिन्, त्यसपछि घरले पनि साथ दिन थाल्यो। अहिले उनी सर्प समाउने बेला परिवारका सदस्य नै भिडियो खिचेर सन्देश फैलाउन मद्दत गर्छन्। सर्पको पहिचान, स्वभाव, विषालु–अविषालु छुट्याउने ज्ञानसँगै उद्धारका तरिका बुझ्नका लागि उनले चितवनमा सर्प विशेषज्ञहरूसँग केही दिने विशेष तालिम लिएकी थिइन्। उनले गोमनजस्ता अत्यन्तै विषालु सर्पसमेत सम्हालेकी छन्।

सर्प उद्धारमा स्टिक, ग्लाभ्स, ब्यागलगायत विशेष उपकरण आवश्यक पर्छन्।सञ्चार क्षेत्रमा पनि सक्रिय रहेकी सम्झनाले झापाको एक रेडियोमा आरजेका रूपमा यात्रा सुरु गरिन्। पछि सेल्फी टिभी हुँदै हाल आफ्नै अनलाइन मिडिया सञ्चालन गरिरहेकी छन्। सञ्चारकै माध्यमबाट उनले सर्पप्रतिको डर हटाउन र सही जानकारी फैलाउन अनवरत प्रयास गरिरहेकी छन्। सम्झनाको अभियान नारी साहस, समाजमा चेतना र पर्यावरण सन्तुलनको एक अद्वितीय उदाहरण बनेको छ।