इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पथरीमा जीवन विज्ञान प्रयोगशालाले आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ । मंगलबार बिहान पथरी शनिश्चरे वडा नं १ को नर्वदेश्वर शिवालय मन्दिरको सभा हलमा स्वजागरण, दीप प्रज्ज्वलन र योगभ्यास कार्यक्रम सम्पन्न गरिएको हो । पथरी उद्योग वाणिज्य संघको पहलमा आरम्भ भएको जीवन विज्ञान प्रयोगशालाको हाल सम्ममा नगरभित्र छ वटा शाखाहरू विस्तार गरिएको छ । जीवन विज्ञान ध्यान उर्जा प्रयोगशाला मार्फत सयौँ साधक साधिकाले नियमित योग साधनाका कारण आफ्नो शारीरिक र मानसिक विकास , सुख, शान्ति र समृद्धिको अनुभूति, निरोगिता, मुटु र रक्तप्रवाह जस्ता विभिन्न शारीरिक तथा मानसिक स्वास्थ्य प्राप्त गरेको अनुभूतिहरू आदान–प्रदान गर्नुभएको थियो । पथरिशनिश्चरेमा एक वर्ष यता हरेक बिहान योग साधना हुँदै आएको छ । जीवन विज्ञान ध्यान उर्जा प्रयोगशाला कोशी प्रदेशका प्रशिक्षक खगेन्द्र न्यौपाने र मोरङ संयोजक चन्द्र चेम्जोङले सहभागी योग साधकहरूलाई प्रशिक्षण दिनुभएको स्थानीय प्रशिक्षक मदन गुरागाइँले बताउनुभयो । उक्त अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, निवर्तमान अध्यक्ष धनकुमार तामाङ, पथरी शनिश्चरे वडा नं १ का वडाध्यक्ष भीम कुमार राई, ७ नं वडाका वडाध्यक्ष उद्धवराज बस्नेत, ८ नं वडाका वडाध्यक्ष नवीन जङ कार्की, योग साधक पुण्यप्रसाद नेपाल लगायतको सहभागिता रहेको थियो ।


