इटहरी । पथरी शनिश्चरे नगरपालिकाले नगरका ३ जना उत्कृष्ट कृषकहरूलाई सम्मान गरेको छ । मंगलबार पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा नगरका उत्कृष्ट किसानहरुलाई सम्मानित गरिएको हो । सम्मानित हुनेहरुमा तरकारी खेतीतर्फ सुबोल चन्द्रवंशी, मौरी पालनतर्फ मनकुमार राई, उखु खेतीतर्फ इन्द्र विलास घिमिरे रहनुभएको छ । सम्मानित तिनै जनालाई नगद ५० हजार, प्रमाण–पत्र र दोसल्ला ओढाई सम्मानित गरिएको थियो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सम्मान कार्यक्रममा बोल्दै कृषकलाई प्रोत्साहित गर्न पहिलोपटक नगरस्तरमा सम्मान कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । सोही कार्यक्रममा उप–प्रमुख देविमाया काफ्ले र वडा नं. २ का वडाध्यक्ष नैना राईले शुभकामना मन्तव्य राख्नुभएको थियो भने तीनै जना सम्मानित कृषकहरुले पनि आफ्ना कुरा राख्नुभएको थियो । कार्यक्रम सञ्चालन कृषि शाखा प्रमुख सविना राईले गर्नुभएको थियो । सो कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, नगरपालिकाका शाखा प्रमुख र कृषकहरुको उपस्थिति रहेको थियो ।


