इटहरी । वर्खायाममा पनि मुन्दुम पदमार्गमा पद यात्रा गर्न सकिने सन्देश दिन यहीँ ७ गते भोजपुरको चखेवा भञ्ज्याङमा मुन्दुम ट्रेल रेसको आयोजना गरिने भएको छ । मुन्दुम पदमार्गको प्रवद्र्धन सगै वर्खामा पनि मुन्दुम पदमार्गमा यात्र गर्न सकिने उदाहरण देखाउन सातौँ ‘मुन्दुम ट्रेल रेस’ २०२५ को आयोजना गरिएको हो । पर्यटकीय स्थल चखेवा भञ्याङबाट टेम्केडाँडा हुँदै खोटाङको सीमाना तावाभञ्याङ पुगि पुनः तावाभञ्याङबाट पाँचधारे, रतिया, मझौले, हात्ती खर्क हुँदै चखेवा सम्मको २२ किलोमिटर दुरिको मुन्दुम ट्रेल रेसका लागि रुट तय गरिएको आयोजक रिमाचुङ,एजुकेसन एण्ड स्पोर्ट एकाडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिनुभयो । एक समूहमा तीन महिला र तीन पुरुष गरी छ जनाको सहभागिता रहने छ । प्रतियोगितामा समुह तर्फ प्रथम हुनेले प्रमाण पत्रको साथमा नगद ४० हजार, दितिय हुनेले नगद ३० हजार र तृतिय हुनेले नगद २० हजार पाउने छन् । त्यस्तै एकल प्रथम,दितिय र तृतिय हुनेले क्रमशः नगद १५ हजार, दश हजार र पाँच हजार पाउने छन् । मुन्दुम पदमार्गको विकास र प्रवद्र्धनका लागि मुन्दुम ट्रेल रेस आयोजनाले सहयोग पुग्ने साथै प्रचुर पर्यटकीय संभावना भएको गाउँपालिकामा पर्यटन विकास र प्रबद्र्धनका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । मुन्धुम पदमार्ग भ्रमण वर्ष २०२५ मा १ लाख पर्यटक भित्राउने लक्ष्यका साथ टेम्केमैयुङ गाउँपालिका सक्रिय भएर विभिन्न मेला आयोजना गर्दै मुन्दुम पदमार्गको प्रवद्र्धन गर्न गाउँपालिका सक्रिय भएको छ । खोटाङ र भोजपुरको सीमामा पर्ने खिदिमा स्थित तावाभञ्ज्याङबाट सुरु भएको मुन्दुम पदमार्ग तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७ सय ५० मिटरको साल्पापोखरी तथा ४ हजार १ सय ५४ मिटरको सिलिचुङ सम्म पुगेर टुङ्गिन्छ ।


