इटहरी । धरान उपमहानगरपालिकामा प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र उपप्रमुख आइन्द्रविव्रmम बेघाबिच विवाद हुँदा धरान उपमहानगरपालिका तनावग्रस्त भएको छ । धरान उपमहानगरपालिकामा केही समयदेखि प्रमुख र उपप्रमुखबिच विवाद भइरहेकोमा विगत दुई दिनदेखि श्रमदानको विषयमा उपमहानगरपालिकाको डोजरलगायतका सामग्रीको चाबी उपप्रमुखले दिन नमानेको भन्ने विषयमा उपमहानगरपालिका तनावग्रस्त बनेको हो । मङ्गलबार नगरप्रमुख राईका समर्थक एवं श्रमदाता उपप्रमुख बेघासँग चाबी माग्न पुगेपछि उपप्रमुख बेघा सम्बद्ध पार्टी नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ता पनि उपमहानगरपरिसरमा भेला भएका थिए ।दुवै पक्ष भेला हुन थालेपछि उपमहानगरपालिकाको कार्यालय तनावग्रस्त बनेको थियो ।
भिडलाई नियन्त्रण गर्न नगरप्रमुख राई उपप्रमुख बेघालगायत १० का वडाध्यक्ष विवेक राई, १७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराईसहितको छलफल गरेका थिए भने अप्रिय घटना हुन नदिन प्रहरी टोली तैनाथ रहेको थियो । नगरपालिकाको डोजर, एक्साभेटरको चाबी नगरप्रमुख राई, उपप्रमुख र कार्यालय स्टोरमा एक÷एक वटा रहने उपप्रमुख बेघाले बताउनुभयो । प्रमुख तथा उहाँका कार्यकर्ताले जथाभाबी प्रयोग गर्न थालेपछि दुरुपयोग रोक्न केही दिनदेखि आफूसँग भएको र कार्यालयको चाबी अरूलाई दिन रोकेको उहाँले बताउनुभयो । श्रमदाता समूहहरू धरान–१०, नारायण पथमा एक्साभेटर, डोजर प्रयोग गर्न चाबी माग्दै कार्यकक्षमा आए पनि श्रमदातालाई चाबी नगरप्रमुखसँग पनि रहेको भनी सम्झाइबुझाइ गरेको बताउनुभयो ।
उपप्रमुख बेघाले आफूहरू झडप गर्ने पक्षमा नरहेको र कसैलाई पनि झडप गर्न नदिने बताउनुभयो । अनुशासित, मर्यादित, कानुनसङ्गत गर्न सबैलाई आग्रह गर्नुभयो । वडाध्यक्ष विवेक राईले १० को वडामा काम गर्दा विवाद भएकाले नगरप्रमुख र उपप्रमुख दुवैको साथमा रहेका चाबी आफूले राखेको र बुधबारबाट १० को श्रमदान काम सुरु हुने बताउनुभयो ।


