इटहरी  । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेशले बुधबार मानवअधिकार विषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्लाका पत्रकारहरू, मानवअधिकारकर्मी तथा सरोकार भएका निकायबीच पत्रकारिता अभ्यासमा देखिएका मानवअधिकार उल्लङ्घनका मुद्दाहरूबारे विस्तृत छलफल गरिएको हो । सहभागी पत्रकारले समाचार संकलनका क्रममा भोग्नुपरेका व्यावसायिक अवरोध, अभिव्यक्ति स्वतन्त्रताको हनन, शारीरिक तथा मानसिक दुर्व्यवहार, सूचनामा पहुँचको अभाव, सरकारी कार्यालयबाट असहयोगलगायत विषयमा छलफल गरेका थिए । पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष एवं कान्तिपुर दैनिकका पत्रकार अर्जुन सुवेदीले छाला उद्योग अनुगमनको क्रममा स्थानीय तहका कर्मचारीले सञ्चारकर्मीलाई साथमा लैजान पाइँदैन भन्दै आफूलाई रोकेको अनुभव सुनाए । नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, पत्रकार विनय ब्राहकोटी, तेजवनलगायत वक्ताले जिल्लामा पत्रकारमाथि हुने धम्की, अपमानजनक व्यवहार, सूचनाको गोप्यकरण र प्रशासनिक निकायको असहयोगलगायत विषयमा छलफल गरेका थिए । उनीहरूले विशेष गरी ग्रामीण भेगका पत्रकार बढी जोखिममा रहेर काम गरिरहेका भन्दै सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो गरे । इन्सेक कोशी प्रदेश प्रमुख मनोहर पोखरेलले मानवअधिकार उल्लङ्घनको सूचना सञ्चारकर्मीमार्फत समाजमा पुग्ने भएकाले पत्रकारको अधिकार सुरक्षित हुनु अतिआवश्यक रहेको औँल्याए । सहभागीहरूले पत्रकारमाथि हुने दुर्व्यवहार, सूचनाको पहुँचमा हुने अवरोध र राज्य संयन्त्रबाट हुने दबाबको अन्त्य गर्न आग्रह गरेका थिए । साथै, पत्रकार सुरक्षासम्बन्धी स्पष्ट कानुनी व्यवस्था र स्थानीय तहका कर्मचारीलाई अभिव्यक्ति स्वतन्त्रताबारे अभिमुखीकरण आवश्यक रहेको सुझाव दिएका थिए ।