इटहरी । इलामको सूर्योदय नगरपालिकाले तामाङ समुदायको संस्कृति संरक्षणका लागि लोपउन्मुख बाजा टुङ्ना र डम्फु तामाङ समुदायलाई हस्तान्तरण गरेको छ । नगरको महिला बालबालिका तथा समाज कल्याण शाखाको २०८१(०८२ को वार्षिक स्वीकृत आदिवासी जनजाती संस्कृति संरक्षण कार्यक्रम अन्र्तगत नेपाल तामाङ घेदुङ सूर्योदय नगर कार्य समितिलाई दुई लाख ५० हजार मुल्य बराबरको टुङ्ना र डम्फु हस्तान्तरण गरेको हो । महिला बालबालिका तथा समाज कल्याण प्रमुख तारा शेर्पाका अनुसार जाताजातीको संस्कृति संरक्षण अन्र्तगत चार थान टुङ्ना र २५ थान डम्फु नेपाल तामाङ घेदुङ सङ्घको सांस्कृतिक समुहलाई हस्तान्तरण गरिएको छ ।
सूर्योदय नगरपालिकामा मात्र तामाङ समुदायको जनसङ्ख्या २७ हजार तीन सय ८२ जना रहेको छ । तामाङ समुदायको जनसङ्ख्या इलाम जिल्ला भरमा तेस्रो ठुलो सङ्ख्याको रूपमा रहेको छ । सांस्कृतिक सामग्री हस्तान्तरण गर्दै सूर्योदयका नगर प्रमुख रणबहादुर राईले नगरले यसरी वितरण गरिएका सामग्री संस्थागत रूपमा एकीकृत गरी निश्चित स्थानमा राखी संरक्षण गर्नुपर्ने बताउनुभयो । नेपाल तामाङ घेदुङ सूर्योदय नगर अध्यक्ष नितेश तामाङले नगरले हस्तान्तरण गरेका सांस्कृतिक सामग्रीले तामाङ सामुदायको संस्कार, संस्कृति संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा नगर उप प्रमुख दुर्गा कुमार बराल, वडाध्यक्षहरू पेमा उगेन लामा, शिवकुमार बस्नेत, लोकबहादुर राई लगायत तामाङ सामुदायका सांस्कृतिक समुहको सहभागिता थियो।


