इटहरी । आफ्नो लालपूर्जा नहुँदा वर्षौंदेखि भूमिसम्बन्धी समस्या झेल्दै आएका भूमिहीनलाई इलाममा जग्गाको लालपूर्जा वितरण गर्न थालिएको छ । जिल्लास्थित भूमि समस्या समाधान आयोगले आज चुलाचुली गाउँपालिकामा ३१ परिवारलाई लालपूर्जा वितरण गरेको हो । विगतदेखि भूमि आयोगले गरेका अपुरो अधुरो कार्यभित्र रहेका परिवारको लालपूर्जा तयार गरेर वितरण गरिएको जिल्लास्थित आयोगका अध्यक्ष प्रकाश अधिकारीले बताउनुभयो । चुुलाचुलीमा ६३० परिवारको जग्गा अधुरो अपुरोमा प्रमाणित गरिएको छ । बाँकीलाई क्रमशः प्रक्रियामा लगेर लालपूर्जा वितरणको काम गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । यस आयोगले जिल्लामा पहिलो पटक थालेको लालपूर्जा वितरणको पहिलो चरणको काम रोङ गाउँपालिकामा सम्पन्न भएको छ । रोङमा ७२ परिवारलाई लालपूर्जा दिइएको छ । रोङमा अब ७८ परिवारको लालपूर्जाको तयारी रहेको र ती परिवारले राजस्व तिरेपछि पुनः वितरण गरिने जनाइएको छ । यस्तै, माई नगरपालिकामा १५२ परिवारका लागि आयोगले १५ दिनको सूचना निकालेर काम गरिरहेको छ । आगामी असार १० गते सम्ममा माई नगरपालिकामा पनि लालपूर्जा वितरण गर्ने तयारी रहेको जनाइएको छ । यस्तै, माङ्सेबुुङ गाउँपालिकामा ११० परिवारको लालपूर्जाको तयारी हुँदै गरेको आयोगले जनाएको छ । आयोगले अहिलेसम्ममा जिल्लाको पाँच पालिकामा दुुई हजार सात सय ७९ कित्ताको नक्सा, स्थलगत अध्ययन तथा प्रमाणीकरण गरेर काम गरिरहेको जनाइएको छ । अहिलेसम्म जिल्लामा ११६ भूूमिहीन दलित, ४९० भूूमिहीन सुुकुम्वासी र अव्यवस्थित बसोवासमा १३ हजार ४८६ निवेदन दर्ता भएको जनाइएको छ । यीमध्ये माई नगरपालिकामा २८ भूूमिहीन दलित, ८८ भूमिहीन सुकुम्वासी, सात हजार ३६६ अव्यवस्थित बसोवासीको सङ्ख्या दर्ता भएको छ । यस्तै, माङ्सेबुुङमा २४ भूमिहीन दलित, २३० भूमिहीन सुकुम्वासी, २ हजार ३०८ अव्यस्थित बसोवासीको सङ्ख्या दर्ता छ । रोङ गाउँपालिकामा ४ भूमिहीन दलित, ६५ भूमिहीन सुकुम्वासी, १ हजार ७९१ अव्यवस्थित बसोवासी रहेका छन् । सूर्योदय नगरपालिकामा ६० भूमिहीन दलित, १०७ भूूमिहीन सुकुम्वासी, १ हजार ९६५ अव्यवस्थित बसोवासीको सङ्ख्या रहेको छ ।


