इटहरी । बुधबार दिउँसो चुलाचुली गाउँपालिकाको कार्यालय परिसरमा भेटिनुभएका चुलाचुली–५ का ६५ वर्षीय भक्तबहादुर फागोको हर्षको सीमा थिएन । हँसिलो मुद्रामा उहाँ जग्गाधनी पुर्जा (लालपुर्जा) बोकेर साथीभाइहरुलाई देखाउँदै हुनुहुन्थ्यो । जन्मँदै भूमिहीन फागोले ६० को दशक पार गरेपछि जग्गाधनी पुर्जा हात पार्नुभएको हो । वर्षौंदेखि बसोबास गर्दै आएका तर आफ्नो नाममा लालपुर्जा नपाएका चुलाचुली गाउँपालिकाका ३१ बसोबासीको खुसी भक्तबहादुरको जस्तै थियो । भूमि समस्या समाधान आयोगले चुलाचुली गाउँपालिकासँग समन्वय गरेर बुधबार ३१ जनालाई लालपुर्जा वितरण गरेको हो । जग्गाधनी पुर्जा पाएसँगै चुलाचुलीबासी खुसी छन् ।
वर्षौंदेखि जमिनविहीन भएर बसोबास गर्दै आएका चुलाचुलीबासीले आफ्नै नाममा जग्गाको प्रमाणपत्र पाउँदा दङ्ग छन् । पहिलोपटक आफ्नो नाममा जग्गाधनी पुर्जा पाएसँगै जीवनमा नयाँ भरोसा पलाएको चुलाचुली–२ की ६२ वर्षीया पदमकुमारी राईले बताउनुभयो । चुलाचुली–२ की निरमाया तामाङ वर्षौंदेखि भोगचलन गर्दै आए पनि पुर्जा प्राप्त भएपछि आफ्नै जमिन भएको अनुभूति भएको बताउनुभयो । चुलाचुली गाउँपालिका–२, ४ र ५ का ३१ परिवारलाई ५४ कित्ता जग्गाको लालपुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोगका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिनुभयो । आयोगले चुलाचुली गाउँपालिकासँग समन्वय गरेर लालपुर्जा वितरण गरेको हो । आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, केन्द्रीय सदस्य एवम् कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईं, जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा आयोगले जग्गाधनी पुर्जा वितरण गरेको हो ।
चुलाचुली गाउँपालिकामा ६२० जनाको जग्गा नापजाँच र प्रमाणीकरणको काम भइरहेको अध्यक्ष अधिकारीले बताउनुभयो । बाँकीलाई पनि क्रमिक रुपमा जग्गाधनी पुर्जा वितरण गरिने उहाँले बताउनुभयो । यसअघि मङ्गलबार रोङ गाउँपालिका–१ का ७२ जनालाई आयोगले पुर्जा वितरण गरेको थियो । भूमि आयोगका केन्द्रीय अध्यक्ष रिजालले देशभर जिल्ला आयोगबाट लालपुर्जा वितरण सुरु भएको बताउनुभयो । दुई वर्षभित्र सबै भूमिहीन जग्गाको मालिक बन्ने उहाँको भनाइ थियो । इलाममा २२ हजार २४० जनाको निवेदन दर्ता भएको आयोगले जनाएको छ । जसमा २१० भूमिहीन दलित, ९१० भूमिहीन सुकुम्बासी र २१ हजार १३० अव्यवस्थित बसोबासी रहेका थिए ।


