इटहरी । आधुनिक प्रविधिको विकाससँगै दैनिक प्रयोगबाट हराउँदै गएको परम्परागत जाँतोको स्मरण गराउने गरी मोरङको लेटाङमा नेपालकै सबैभन्दा ठुलो जाँतो पर्यटकको रोजाई बनेको छ। लेटाङ नगरपालिका–९ मा करिब १५ धुर क्षेत्रफलमा फैलिएको उक्त जाँतो हाल सार्वजनिक अवलोकनका लागि खुला गरिएको छ। देशको प्रमुख राजमार्गबाट ८ किलोमिटर दूरीमा रहेको जाँतो स्थलमा अहिले पर्यटकहरूको घुइँचो लाग्न थालेको छ। उक्त जाँतो कोशी प्रदेश सरकारको १० लाख रुपैयाँको सहयोग र स्थानीयवासीको ४ लाख बराबरको जनश्रमदानमा निर्माण गरिएको हो। जाँतोसँगै आकर्षक पार्क पनि निर्माण भइसकेको छ, जसले पर्यटकहरूलाई थप आकर्षण प्रदान गरिरहेको छ। जाँतोबाट नामकरण भएको जाँते क्षेत्रमा रहेको यो जाँतो ग्रामीण संस्कृति र पहिचानको प्रतीक बनेको छ। अब यो स्थल न केवल सांस्कृतिक धरोहरको नमुना हो, तर आन्तरिक पर्यटनको नयाँ केन्द्रको रूपमा पनि विकास भइरहेको छ।


