इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले विहीबार रक्तदान कार्यक्रम गरेको छ । नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । स्काउटर कार्यक्रम संयोजक शिक्षक वन्दना दाहालका अनुसार रक्तदानमा अभिभावक, शिक्षक, विद्यार्थी, स्काउटका सदस्यसँगै स्थानीय गाउँलेले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रम राष्ट्रिय माध्यमिक विद्यालयको स्काउट ट्रुपको आयोजनामा भएको थियो । सो क्रममा स्काउटका कोशी प्रदेश आयुक्त हेमन्त भण्डारी, इटहरी उपमहानगरपालिका आयुक्त डाक्टर वेणुप्रसाद सिटौला, इटहरी उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष कैलाश कार्की लगायतको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रम उद्घाटनका क्रममा सामाजिक संस्थाका अगुवा, समाजसेवी लगायतको उल्लेखीय सहभागिता रहेको थियो । रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाको प्राविधिक सहयोग रहेको थियो ।


