भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा पहिलोपटक एक अत्यन्तै महत्त्वपूर्ण, प्राज्ञिक र अनुसन्धानमूलक सांस्कृतिक ग्रन्थ प्रकाशित भएको छ। ‘टेम्केमैयुङ गाउँपालिकाको बृहत् सांस्कृतिक अध्ययन’ शीर्षकको यस ग्रन्थले न केवल गाउँपालिकाको सांस्कृतिक पहिचान र सम्पदाको अभिलेखीकरण गरेको छ, बरु जिल्लाकै सांस्कृतिक इतिहासको अध्ययनमा एक महत्वपूर्ण इँट थपेको छ। यस ग्रन्थका लेखकहरू डा. भक्त राई र शुभ मुकारुङ हुन्।

ग्रन्थमा टेम्केमैयुङ गाउँपालिकामा बसोबास गर्ने विभिन्न जातजातिका—राई, क्षेत्री, बाहुन, विश्वकर्मा, नेवार, मिजार, तामाङ, परियार, भुजेल, मगर, गुरुङ र सन्यासी—को सांस्कृतिक इतिहासको गहिरो अध्ययन गरिएको छ। ती समुदायहरूले आजका दिनसम्म जोगाइराखेका सांस्कृतिक अभ्यासहरू, विश्वासहरू, र परम्पराहरूको विश्लेषण गरिएको छ।

यसै गरी, गाउँपालिकाका नौवटै वडामा अवस्थित प्रमुख धार्मिक, सांस्कृतिक, पुरातात्त्विक र ऐतिहासिक स्थलहरूको स्थलगत अध्ययन गर्दै तिनको महत्व, उत्पत्ति र वर्तमान अवस्था समेत समेटिएको छ। नेपाली समाजमा प्राचीनकालदेखि नै पूजिँदै आएका शिव, गणेश, सरस्वती, देवी, सिमेभूमे, कुलकुलायन, पितृ, प्रकृति, चुला, पञ्चतत्त्व आदि देवीदेवता र शक्तिहरूको उल्लेख गर्दै ती पूजाहरूको ऐतिहासिक सन्दर्भ र स्थानबारे जानकारी प्रस्तुत गरिएको छ।

विशेषतः गाउँपालिकामा सयौं वर्षदेखि पूजिँदै आएका एक कन्या देवी, तीन कन्यादेवी र पाँचकन्या देवीहरूको धार्मिक, सांस्कृतिक इतिहासबारे समेत खोज गरिएको छ। अध्ययनका क्रममा कतिपय स्थानमा पूजामा संलग्न नाक्छोङ, माङ्पा, लामा, पास्टर र पुजारीहरूलाई समेत ती देवीदेवताबारे पर्याप्त जानकारी नभएको पाइएकाले आम जनमानस र पूजकहरूलाई समेत सुसूचित बनाउने उद्देश्यले यी देवताहरूको परिचय, उत्पत्ति र पूजाविधिको सन्दर्भ ग्रन्थमा प्रस्तुत गरिएको छ।

ग्रन्थमा सिकारी पूजा, कुलपूजा, गोठपूजा, वायुपूजा, सिमेभूमे पूजा, नागनागिनी पूजा, भीमसेन पूजा, देवाली (मष्टो) पूजा, साखेवा/साकेला पूजा, पितृ पूजा आदि जातीय तथा समुदायगत संस्कारहरूको समेत वर्णन गरिएको छ। साथै बौद्ध गुम्बा, माने, विहार, चैत्य, मन्दिर, माङ्खिम, चर्च आदि धर्मस्थलहरूको ऐतिहासिक र सांस्कृतिक महत्वसमेत समेटिएको छ।

यस ग्रन्थको अर्को विशेषता भनेको गाउँपालिकाको समग्र समृद्धिको सम्भावनाबारे लेखिएको विश्लेषणात्मक खण्ड हो, जसमा सबै वडाको विशेषता, सम्भाव्यता र स्रोतहरूका आधारमा विकासका सुझावहरू प्रस्तुत गरिएका छन्। साथै, गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरू र सम्पूर्ण कर्मचारीहरूको परिचयसहित यसलाई एक अभिलेखीय दस्तावेजका रूपमा समेत प्रस्तुत गरिएको छ।

यो ग्रन्थ न केवल टेम्केमैयुङ गाउँपालिकावासीका लागि उपयोगी छ, बरु संस्कृति, इतिहास र सामाजिक अध्ययनमा रुचि राख्ने अनुसन्धानकर्ताहरू, विद्यार्थीहरू, योजनाकारहरू र नीति निर्माताहरूका लागि पनि एक सन्दर्भ सामग्री बन्न सक्नेछ।