इटहरी | पूर्वी नेपालमा फ्लेयर बारटेन्डिङ कला र रात्रिकालीन जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘ईस्टर्न क्राफ्ट एन्ड फ्लेयर सिरिज’ को दोस्रो संस्करण सम्पन्न भएको छ।

इटहरीको रोयल रिसोर्टमा सम्पन्न प्रतियोगिता इलाइट बारटेन्डिङ एकेडेमी, इटहरी र स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि., काठमाडौं को संयुक्त आयोजनामा गरिएको हो। यस प्रतियोगितामा नेपालका विभिन्न स्थानहरूबाट आएका २२ जना फ्लेयर बारटेन्डरहरूले सहभागी जनाएका थिए। उनीहरूले बारटेन्डिङ सम्बन्धी आफ्ना सीप, रचनात्मकता र प्रस्तुतीकरण कौशल प्रस्तुत गर्दै दर्शक र निर्णायकको मन जितेका थिए।

प्रतियोगिताको अन्तिम परिणामअनुसार रमेश थापा पहिलो, नवीन धामी दोस्रो, र शोशन चौधरी तेस्रो स्थानमा विजेता घोषित भए। विजेताहरूलाई नगद पुरस्कार, ट्रफी तथा सम्मानपत्र प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ। साथै, 'बेष्ट ककटेल' विधामा पनि रमेश थापा नै उत्कृष्ट ठहरिए भने 'बेष्ट मुभ' विधामा नवीन धामीले अवार्ड जिते। दुबैलाई पनि अतिरिक्त पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि. का सञ्चालक राम प्रसाद गौतमले भने, “यो प्रतियोगिता नेपालको फ्लेयर बारटेन्डिङलाई पेशागत ढंगले अगाडि बढाउने एक प्रयास हो। यसले बारटेन्डरहरूको प्रतिभा उजागर गर्नुका साथै पूर्वी नेपालको सांस्कृतिक र नाइट लाइफको सम्भावनालाई पनि प्रवर्द्धन गर्छ।”

यता, इलाइट बारटेन्डिङ एकेडेमी, इटहरी का सञ्चालक भिम राना मगरका अनुसार, प्रतियोगिताले बारटेन्डिङलाई एक पेशा र कलाको रूपमा स्थापित गर्न सहयोग पुर्‍याइरहेको छ। उनका अनुसार, संस्थाले तीन वर्षदेखि इटहरीमा बारटेन्डिङ सम्बन्धी नियमित तालिम सञ्चालन गर्दै आएको छ।1750436151345

प्रतियोगिताको निर्णायक मण्डलमा फ्लेयरोलोजी बार स्कुल एण्ड इभेन्ट का निर्देशक मोनिश राज, स्ट्रिक्ट्ली फ्लेयर का सञ्चालक राम प्रसाद गौतम, स्टेप अप हस्पिटालिटी एण्ड बिर्टस रूम का संस्थापक बिज्नु सारु, र एफबिआइ बारटेन्डर नेपाल का सञ्चालक सुरज महर्जन लगायत रहेका थिए।

यसअघि सन् २०२४ मा सम्पन्न पहिलो संस्करणमा देशभरिका ५० भन्दा बढी बारटेन्डरहरूले सहभागिता जनाएका थिए। आयोजकका अनुसार आगामी संस्करणलाई अझ व्यापक र अन्तर्राष्ट्रिय बनाउने तयारी भइरहेको छ।1750436158190

यस कार्यक्रमले इटहरीको रात्रिकालीन पर्यटन, सांस्कृतिक विविधता र युवा प्रतिभालाई उजागर गर्ने उद्देश्य मात्र पूरा गरेको छैन, फ्लेयर बारटेन्डिङ जस्तो नौलो विधालाई जनमानसमा स्थापित गर्ने दिशामा पनि महत्वपूर्ण भूमिका खेलेको देखिएको छ।1750436146473