इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवीय लापर्बाहीका कारण मनसुनजन्य विपत्तिको जोखिम दिनप्रतिदिन बढिरहेको बताउनुभएको छ । शुक्रबार विराटनगरमा आयोजित ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधार निर्माणमा वातावरणीय मूल्याङ्कन नहुँदा विपत्तिको रूप लिने गरेको बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई कोशी प्रदेशका सबै जिल्लामा प्रभावकारी विपत् व्यवस्थापनको तयारी गर्न निर्देशनसमेत दिनुभयो । उहाँले मानवीय, भौतिक तथा आर्थिक क्षति न्यूनीकरणका लागि जनचेतना अभिवृद्धिमा विशेष ध्यान दिन पनि आग्रह गर्नुभएको छ ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले कोशी प्रदेशले पाँचवर्षीय विपत् व्यवस्थापन रणनीति कार्ययोजना अनुसार जोखिम विश्लेषण र संवेदनशील बस्तीको पहिचान गर्दै आएको बताउनुभयो । अति जोखिममा रहेका बस्तीको स्थानान्तरणको तयारी पनि भइरहेको मन्त्री भण्डारीको भनाइ छ । सङ्घीय, प्रदेश र स्थानीय सरकारबिच सहकार्य गरी विपत् प्रतिकार्यलाई प्रभावकारी बनाउने योजना रहेको उहाँको भनाइ छ । कार्यव्रmममा विभिन्न विषयमा विज्ञहरूद्वारा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
जल तथा मौसम विज्ञान विभाग धरानका रुद्र परियारले ‘२०८२ सालको मनसुन प्रक्षेपण’, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी गोमा चेम्जोङले ‘सङ्घीय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२’ र कोशी प्रदेशका विज्ञ रामकुमार दाहाल तथा यसप्रसाद सुब्बाले ‘प्रदेशस्तरीय मनसुन पूर्वतयारी र प्रतिकार्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


