इटहरी । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले करदाता सेवा कार्यालय पाँचथरसँगको सहकार्यमा ताप्लेजुङमै करदातासँग सम्बन्धित सेवा प्रदान गरेको छ। करदाता सेवा कार्यालय नभएको ताप्लेजुङका सेवाग्राही करसँग सम्बन्धित सेवा पाँचथर पुगेर लिनुपर्ने अवस्था रहेको छ। करदाताहरूको आवश्यकता बुझेर ताप्लेजुङबाटै सेवा प्रवाह हुने गरी एक दिने एकीकृत घुम्ती शिविरको आयोजना गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख उद्योग अधिकृत लक्ष्मी सुहाङले जानकारी दिए। उनका अनुसार एकीकृत सेवा वितरणका क्रममा १९ वटा उद्योग दर्ता भएका छन्। ९ वटा उद्योगको नाम परिवर्तन सम्बन्धी सेवा प्रदान गरिएको छ। ७ वटा उद्योगको उद्देश्य थप तथा २ वटा उद्योगको खारेजी सेवा प्रदान भएको सुहाङले जानकारी दिए। करदाता सेवा कार्यालय पाँचथरका प्रमुख बद्रीप्रसाद भेटवालको नेतृत्वमा रहेको टोलीले सेवा प्रदान गरेको हो। सुहाङका अनुसार एकीकृत सेवा वितरणका क्रममा सबै प्रकारका उद्योगरवाणिज्य दर्ता तथा नवीकरण, उद्देश्य थप, नामसारी, पुँजीवृद्धि, नाम परिवर्तन र खारेजी, व्यक्तिगत, व्यावसायिक, निकाय र संस्थागतको स्थायी लेखा नम्बर जारी, करदाता विवरण अद्यावधिक, केवाईटी जारी, करदाता बायोमेट्रिक अध्यावधिक र उद्योग, वाणिज्य तथा करसम्बन्धी परामर्श सेवा प्रदान गरिएको छ। पाँचथरको फिदिमसम्म पुग्नुपर्ने सेवाग्राहीलाई आफ्नै गृह जिल्लामार्फत सेवा प्रदान गर्न यस्तो एकीकृत घुम्ती सेवा सञ्चालन गरिएको प्रमुख उद्योग अधिकृत सुहाङले जानकारी दिए।


