इटहरी। ताप्लेजुङमा फुङ्लिङ नगरपालिकामा श्रमदानमार्फत अलैँची रोपिएको छ। किसान सहिद दिवसका अवसरमा शुक्रबार फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको सिद्धिडाँडामा श्रमदानमार्फत अलैँची रोपिएको हो। किसान महासङ्घ ताप्लेजुङको अगुवाइमा अलैँची रोप्न श्रमदान गरिएको हो। फुङ्लिङ नगरपालिका निवासी किसान महासङ्घ जिल्ला समितिकी उपाध्यक्ष फूलमाया गुरुङको करिब पाँच रोपनी जग्गामा अलैँची रोपिएको फुङ्लिङ नगर कार्यपालिका सदस्य पाल्देन शेर्पाले जानकारी दिनुभयो। योङ कम्युनिस्ट लिग नेपाल वाइसिएलका प्रदेश कमिटी सदस्यसमेत रहनुभएका शेर्पाका अनुसार एक हजार अलैँचीको विरुवा रोपिएको हो। अलैँची रोप्न श्रमदान गर्नेमा नेकपा ९माओवादी केन्द्र० का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री पराग, जिल्ला संयोजक विष्णुकुमार हाङ्बाङ, सचिव सागरमणि गौतम लगायतका नेता, कार्यकर्ता सहभागी हुनुभएको थियो। यस्तै किसान महासङ्घ जिल्ला समितिका पदाधिकारी, सदस्य र स्थानीय समर्थक तथा शुभेच्छुकले अलैँची रोप्न श्रमदान गर्नुभएको छ। अलैँची ताप्लेजुङको प्रमुख नगदेबाली हो भने जिल्लाका अधिकांस किसान अलैँची खेतीमा आवद्धमा रहेका छन्।