इटहरी । मोरङको पथरी शनिश्चरेमा रेडस्टार माध्यमिक विद्यालयको आयोजनामा दुई दिवसीय  प्रथम मित्रता क्याम्प सम्पन्न भएको छ । शनिबार विद्यालयको प्राङ्गणमा आयोजित सो क्याम्प विभिन्न आपतकालीन अभ्यासहरू  गर्दै  समापन भएको हो । शुक्रवार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख एवम् स्काउट संरक्षक  मोहनप्रसाद तुम्वापोले नेपालको राष्ट्रिय झण्डा र उप प्रमुख देवीमाया काफ्लेले स्काउटको झन्डोत्तोलन गर्दै उद्घाटन गर्नुभएको उक्त क्याम्पमा विद्यालयका विभिन्न कक्षाहरूमा अध्ययनरत ६३ जना छात्रछात्राहरूले सहभागिता जनाएका थिए । क्याम्पका अवसरमा प्राकृतिक विपत्ति तथा आगलागी जस्ता घटनाहरूमा कसरी स्काउटकर्मीले स्वयं सेवा गर्नुपर्छ भनेर  विभिन्न नमुना –अभ्यासहरू गराइएको पथरी शनिश्चरे नगर आयुक्त रोशन बुढाथोकीले जानकारी दिनुभयो । दुई दिनमा  छात्र – छात्राहरूले किचन फायर सेफ्टी, बन्जीजम्प, जिपलाईन, टनेल क्रस, बेम्बो स्टेप, मङ्की क्ल्याम , क्याम्प फायरीङ, लगायतका विभिन्न अभ्यासहरू गरेका थिए । यस्तै उनीहरुले  आ – आफ्ना  सांगीतिक तथा सांस्कृतिक प्रतिभाहरू पनि प्रस्तुत गरेका थिए ।  स्थानीय पथरी शनिश्चरे स्काउट नगर समितिले  उक्त क्याम्पका सहजीकरण गरेको थियो । समापन कार्यक्रममा  विद्यालयका संस्थापक तथा सञ्चालक समिति सदस्य राजु तिम्सिनाले  शुभकामना मन्तव्य राख्नुभएको थियो भने  रेडस्टार स्काउट दलको अध्यक्ष समेत रहनुभएका विद्यालयका निर्देशक तथा प्रिन्सिपल टी.एन. तिम्सिनाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।