इटहरी । ११ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योग समिति, इटहरी उपमहानगर समितिको आयोजनामा इटहरीका विभिन्न स्थानमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन इटहरी चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो भने दोस्रो दिन योग प्रशिक्षण तालिम सञ्चालन गरियो । तेस्रो दिन सुगर, प्रेसर, थाइराइड, ग्यास्ट्रिक तथा नशा सम्बन्धी निशुल्क स्वास्थ्य शिविर , चौथो दिन ‘संस्कारयुक्त शिक्षा आजको आवश्यकता’ भन्ने नाराका साथ नर्थ पोइन्ट इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरुसँग योग ध्यान कार्यक्रम , पाँचौं दिन मानव धर्म सेवा समितिमा प्रोटोकल अभ्यास , छैठौं दिन साधना केन्द्र, इटहरीमा यज्ञ तथा होमादी कार्यक्रम र अन्तिम सातौँ दिन ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनी, पकलीमा प्रोटोकल अभ्यास गरिएको थियो । समापन समारोहमा पतञ्जलि योग समिति इटहरी उपमहानगर समितिकी अध्यक्ष उर्मिला कटुवालले योगलाई मानव जीवनको सर्वाङ्गीण विकासको आधार, जीवनशैली र आत्मा–परमात्मा सँगको सम्बन्ध जोड्ने माध्यमका रूपमा उल्लेख गर्दै योग दिवसलाई सप्ताहव्यापी रूपमा मनाउनुको उद्देश्य नै आम सर्वसाधारणमा योग प्रति जागरूकता फैलाउनु रहेको बताउनुभयो ।