इटहरी । नेपाली कांग्रेस निकट तरुण दल इनरुवा नगर कार्यसमिति सुनसरीको आयोजनामा शनिबार इनरुवामा बृहत् युवा प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय, इनरुवामा सम्पन्न कार्यक्रममा इनरुवा क्षेत्रका १ सय ३० जना युवाहरू औपचारिक रूपमा तरुण दलमा प्रवेश गरेका हुन् ।
नेपाल तरुण दल इनरुवा नगर समितिका सभापति अरविन केसीको सभाअध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा तरुण दल सुनसरी क्षेत्र नं–४ का क्षेत्रीय सचिव सत्यनारायण यादवले इनरुवा–२ निवासी विवेक खतिवडालाई नगर उपसभापति पदमा मनोनीत गरिएको घोषणा गर्नुभयो ।कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव यादवले नै गर्नुभएको थियो ।
कार्यक्रममा ,समन्वय समिति सुनसरीका सभापति राजन मेहता,नेपाली कांग्रेस सुनसरी जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, सुनसरी क्षेत्र नम्बर ४ क्षेत्रिय सभापति तथा कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी लगायत नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी युवाहरूले संगठन प्रति आस्था व्यक्त गर्दै समाज रूपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए ।


