बिवस पराजुली / इटहरी
इटहरी जेसीजले आयोजना गरेको "तालिम सप्ताह" अन्तर्गत हिजो चौथो दिनको तालिम कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। २०८२ साल असार ५ गते, बिहीबार देखि इटहरी जेसीजको सभाहलमा सम्पन्न तालिम "Public Speaking" अर्थात् सार्वजनिक वक्तृत्वकला विषयमा केन्द्रित रह्यो।
तालिम संयोजक गणेश नेपालले स्वागत मन्तव्य दिँदै यस किसिमका तालिमहरूले जेसिज सदस्यहरूमा नेतृत्व विकास, आत्मबल अभिवृद्धि र सार्वजनिक मंचमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले थप भन्नुभयो, “हाम्रो उद्देश्य व्यक्तिगत तथा सामाजिक स्तरमा सदस्यहरूको प्रभावशाली प्रस्तुतीकरण क्षमतामा सुधार ल्याउनु हो।”
सदस्यहरूले तालिमप्रति गहिरो रुचि देखाएका थिए र सिकाइको वातावरण निकै उत्साहजनक रहेको सहभागीहरूले बताएका छन्। तालिममा सहभागीहरूले आफनो अनुभव साट्दै भविष्यमा यस्ता थप उपयोगी तालिमहरू आयोजना गर्न पनि सुझाव दिए।
कार्यक्रममा विभिन्न जेसिज सदस्यहरूको उपस्थिति देखिएको थियो। तालिममा सहभागीहरूले प्रभावकारी प्रस्तुतीकरण, आत्मविश्वाससहित सार्वजनिक रूपमा कसरी बोल्ने, शारीरिक भङ्गिमा र भाषिक अभिव्यक्तिको सही प्रयोग लगायतका महत्वपूर्ण पक्षहरूमा ज्ञान प्राप्त गरे।