इटहरी | इटहरीमा लियो क्लब अफ इटहरी इनोभेसन र लियो क्लब अफ इटहरी स्मार्ट सिटिको संयुक्त आयोजनामा आयोजना गरिएको दुई दिने खुला भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। असार ६ र ७ गते इटहरी–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगितामा प्रदेश १ का विभिन्न स्थानबाट १३ वटा भलिबल टोलीहरूले सहभागिता जनाएका थिए।
प्रतियोगिताको उद्घाटन कार्यक्रम लायन्स क्लब अन्तरगत जिल्ला ३२५ सि का गभर्नर लायन विकास अधिकारी (पीएनजेएफ) को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य लियो क्लबका पदाधिकारीहरूले दिएका थिए भने सञ्चालन आकर्षक र व्यस्थित रहेको थियो। उद्घाटन समारोहमा प्रमुख अतिथिसँगै इटहरीका विभिन्न वडाका अध्यक्ष, लायन्स क्लबका पदाधिकारीहरू र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
विशिष्ट अतिथिहरूमा लायन्स क्लबका पूर्व जिल्ला गभर्नर लायन धिरज गुरुङ (पीएनजेएफ), इटहरी वडा नं. १ का अध्यक्ष कैलास कार्की, वडा नं. २ का अध्यक्ष माधव कोइराला, वडा नं. ५ का अध्यक्ष भिष्म घिमिरे, वडा नं. ९ का अध्यक्ष जितेन थापा लगायत लायन्स क्लबका क्षेत्रीय र स्थानीय पदाधिकारीहरू उपस्थित थिए।
उक्त कार्यक्रममा लायन्स क्लब अफ इटहरी इनोभेसनका चार्टर प्रेसिडेन्ट लायन दीपक पोख्रेल, पूर्व अध्यक्ष लायन पदम लुङ्गेली, वर्तमान अध्यक्ष सान्ता काफ्ले, लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीकी अध्यक्ष लायन रञ्जना शर्मा, उपाध्यक्ष अमिसा तिम्सिना, राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक सरन कुमार बस्नेत, सप्तकोशी डेभलपमेन्ट बैंकका शाखा प्रमुख मिलन दाहाल, रोमन राज कार्की लगायतको उपस्थिति पनि उल्लेखनीय थियो ।
भलिबल प्रतियोगितामा पूर्वी नेपालका विभिन्न स्थानबाट आएका १३ वटा टिमहरूको प्रतिस्पर्धा रहेको थियो। सहभागी टिमहरूमा जुम्का, इटहरी आइडल, पूर्वाञ्चल, युथ क्लब तरहरा, केएफसी, भोजपुरे भलिबल, सुनसरी क्रिस्टल, मङ्गलबारे, भोजपुरे बुवाइ, बसबरी स्पोर्टिङ, झापा, कन्काई र शिव सताक्षी समावेश थिए। टिमहरूबीच भएको प्रतिस्पर्धा अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको थियो। खेलाडीहरूले देखाएको खेल भावना, अनुशासन र प्रदर्शन प्रशंसनीय रहेको आयोजकले जनाएका छन्।
प्रतियोगिताको समापन समारोह असार ७ गते सम्पन्न भएको थियो। समापन समारोहको प्रमुख अतिथि नेपाली कांग्रेस निकट युवा संगठन तरुण दल, सुनसरीका जिल्ला सभापति सिजन गुरुङ रहेका थिए। उक्त अवसरमा रितेशजङ खत्री, दिलकुमार राई, अर्जुन बस्नेत, सुवास दाहाल, अनिश सुवेदी, योगेश भट्टराई लगायत सामाजिक, खेलकुद र युवामैत्री व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।
दुई दिने भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै युथ क्लब तरहराले प्रथम स्थान हासिल गर्न सफल भयो। विजेता टिमले नगद रु ३०,०००, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्यो। दोस्रो स्थानमा कन्काई झापाको टिम रहँदै उसले नगद रु २०,०००, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्न सफल भयो।
प्रतियोगिता मार्फत स्थानीय युवा तथा खेलप्रेमीहरूलाई प्रेरणा दिनुका साथै भलिबलजस्तो लोकप्रिय खेललाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको आयोजकहरूले बताए। खेलकुदले युवाहरूलाई स्वास्थ्य, अनुशासन र सामाजिक एकताको मार्गमा अघि बढाउने भएकाले यस्ता प्रतियोगिता नियमित रूपमा आयोजना गर्दै लैजाने प्रतिबद्धता आयोजक लियो क्लबहरूले जनाएका छन्।
प्रतियोगिताले युवा पुस्ताबीच खेलकुदमा सक्रियता बढाउन, नयाँ प्रतिभाहरू पहिचान गर्न र समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सघाउने विश्वास व्यक्त गरिएको छ। स्थानीय तह, विद्यालय, सामाजिक संस्था र विभिन्न क्लबहरूको सहकार्यमा आयोजना गरिएका यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक उदाहरण स्थापना गरिरहेका छन्।