इटहरी। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले किसानलाई हाते ट्रयाक्टर वितरण गरेको छ। धान खेती लगाउने मुख्य समयलाई लक्षित गरी गाउँपालिकाले खेतबारी जोत्नमा प्रयोग गरिने हाते ट्रयाक्टरसहित कृषि औजार वितरण गरेको हो। गाउँपालिकाभित्रका किसानलाई गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङलगायतले औजार वितरण गर्नुभएको छ। गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टरसहितका कृषि उपकरण तथा औजार वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत सङ्गम पौडेलले जानकारी दिनुभयो। पौडेलका अनुसार २० वटा हाते ट्याक्टरका साथै कृषि स्प्रेयर र टनेल वितरण गरिएको छ। चालु आर्थिक वर्षको मागका आधारित कृषि कार्यक्रमअन्तर्गत किसानलाई उक्त कृषि औजार वितरण गरिएको उहाँले बताउनुभयो। धान खेती लगाउने सिजन मौसममा हाते ट्याक्टरसहित कृषि औजार प्राप्त गरेपछि स्थानीय किसान भने हर्षित भएका छन्।


