इटहरी । “संखुवासभालिको पहिचान, विश्व सामु चिनाउने हाम्रो अभियान“ भन्ने मुल नारासहित सक्रिय संखुवासभा समाज कतारले भित्र्याएको मौलिक नौमती बाजाको औपचारिक उद्घाटन सम्पन्न गरिएको छ । कतारको सनैयास्थित लालीगुराँस रेस्टुरेन्टमा आयोजित समारोहमा नेपाली दूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा पञ्चेबाजा प्रदर्शनी गरिएको हो । कार्यक्रममा बाजाको तालमा नेपाली दूतावासको सम्पूर्ण टोलिलाई स्वागत गरिएको थियो । संघ–संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा संखुवासभा समाजका अध्यक्ष राजेन्द्र खनालले पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेको मौलिक पञ्चेबाजालाई प्रवासी भूमिमा संरक्षण गर्ने उद्देश्यले कतार भित्र्याइएको जानकारी दिनुभयो । उहाँले पश्चिमी संगीतको प्रभाव बढ्दै गइरहेको वर्तमान सन्दर्भमा पुर्बेली भाका, कला, संस्कृतिको जगेर्ना र प्रचारप्रसार समाजको प्रमुख उद्देश्य भएको उल्लेख गर्नुभयो । संरक्षक पर्शुराम दहालको आतिथ्यतामा भएको सो कार्यक्रममा सहभागीहरूले नौमती बाजाको तालमा नाच्दै कार्यक्रमको शोभा बढाएका थिए । समाजले आगामी दिनमा पनि मौलिक बाजा, भाका र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएको छ ।


