इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईले नियमित रूपमा नगर अस्पताल पुगेर बिरामीहरूको अवस्थाबारे जानकारी लिँदै आउनुभएको छ । सुन्दरहरैंचा–१ स्थित नगर अस्पतालमा उपचाररत बिरामीहरूसँग नगरप्रमुख गुरागाईले स्वास्थ्य स्थिति, सेवा सुविधा तथा चिकित्सकहरूको व्यवहारबारे प्रत्यक्ष संवाद गर्दै आउनुभएको छ । नगर अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामीहरूले नगरप्रमुखको उपस्थितिलाई सकारात्मक रूपमा लिएका छन् । नगरप्रमुखको नियमित अनुगमन र संवेदनशीलताले अस्पतालमा सेवा गुणस्तरमा सकारात्मक प्रभाव परेको बताइन्छ । बिरामीहरू मात्र होइन, अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पनि थप उत्तरदायी हुँदै गएका छन् । हाल नगर अस्पतालको प्रशासनिक भवन निर्माण कार्य पनि तीव्र गतिमा अघि बढिरहेको छ । दमक–५, झापा स्थित प्रविन निर्माण सेवा कम्पनीले निर्माण गरिरहेको उक्त भवन आगामी २०८४ साल वैशाख २५ गते सम्ममा सम्पन्न हुने लक्ष्य राखिएको छ । नगरभित्रका मात्र होइन, छिमेकी पालिकाबाट समेत सेवा लिन बिरामीहरू सुन्दरहरैंचा नगर अस्पताल आउने गरेका छन्, जसले अस्पताल प्रतिको विश्वास झनै बढेको संकेत गरेको छ ।


