इटहरी । रामधुनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख शंकर लाल चौधरीले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले सामाजिक विकास, स्वास्थ्य सेवा, युवा, खेलकुद र उद्यमशिलता, सामाजिक समावेशीकरण तथा सुरक्षा, भाषा संस्कृति र प्रविधिको प्रवद्र्धन, वातावरण संरक्षण, आर्थिक समृद्धि, रोजगारी सिर्जना, पर्यटन विकास, भौतिक पूर्वाधार विस्तार, विपद् व्यवस्थापन, सुशासन र संस्थागत सुधार जस्ता बहुआयामिक क्षेत्रहरूलाई नीति तथा कार्यक्रममा समेटेको छ । यो वर्षका लागि नगरपालिकाले कुल ८३ करोड १३ लाख ६६ हजार ९ सय ४९ को बजेट सार्वजनिक गरेको छ । जसमध्ये ४७ करोड ७३ लाख ७७ हजार चालु खर्चका लागि र ३५ करोड ३९ लाख ८९ हजार ९ सय ४९ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ । नगरपालिका शिक्षा, स्वास्थ्य, कृषि पर्यटन र पूर्वाधार समृद्ध रामधुनीको आधार भन्ने नाराका साथ अगाडि बढिरहेको उपमेयर तारा थापाले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहको सुशासन, पारदर्शिता र नागरिक सहभागिता अभिवृद्धिमा समेत नगरपालिकाले नीति तथा कार्यक्रम केन्द्रित गरेको उहाँको भनाइ छ । यसैगरी वडा नं. १ का वडाध्यक्ष महेश कुमार चौधरीले नगरपालिकाको नीति तथा कार्यक्रम समग्रमा सन्तुलित रहेको र स्थानीय आवश्यकता सम्बोधन गर्न सक्षम भएको प्रतिक्रिया दिनुभयो । नगर प्रमुख शंकर लाल चौधरीले आगामी आर्थिक वर्षमा नगरको पूर्वाधार, शिक्षा, स्वास्थ्य , कृषि र पर्यटन क्षेत्रमा विशेष ध्यान दिइने जनाउँदै नगरपालिका विकासका कामलाई तीव्र बनाउँदै नागरिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने बताउनुभयो । यस सम्बन्धमा असार १० गते हुने १८ औँ नगरसभा मार्फत बजेटमाथि औपचारिक छलफल र स्वीकृति प्रक्रिया अघि बढाइनेछ ।


