इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा घरेलु हिंसाको घटनामा श्रीमतीको ज्यान गएको छ। श्रीमान सोनिया मुसहरले मादक पदार्थ सेवनपछि आफ्नै श्रीमती ढलिसदा मुसहरलाई कुटपिट गरेका थिए। गत असार ७ गते राति करिब ९ बजेतिर ३० वर्षीय सोनियाले २४ वर्षीया श्रीमती ढलिसदालाई कुटपिट गरेका थिए। मादक पदार्थ सेवन गरेका उनको कुटपिटबाट घाइते भएकी ढलिसदालाई उपचार नगराई घरमै राखिएको थियो। असार ८ गते बिहान ९ः२५ बजे उनलाई मृत अवस्थामा फेला पारिएको प्रहरीलाई सूचना प्राप्त भएपछि प्रहरी चौकी भरौलबाट खटिएको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले कुटपिट गरी कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा सोनियालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।