इटहरी। कोसी प्रदेशसभामा जारी प्रदेश सरकारको बजेटमाथिको विनियोजनमा सत्तारूढ दलकै सांसदहरूले असन्तुष्टि जनाएका छन् । बजेटमाथिको छलफलमा सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्यले बजेटजति मन्त्रीहरूले आफ्नो क्षेत्रतिर लगेर आफ्ना महत्वपूर्ण योजनासमेत काटिएको भन्दै विरोध गरेका छन् । एमाले प्रदेशसभा सदस्य लीलावल्लव अधिकारीले आफ्नो ‘हात जगन्नाथ’ भन्ने शैलीमा बजेट एकातिरमात्र खन्याइएको आरोप लगाए । नीति एकातिर बजेट अर्कोतिर गएको अधिकारीले बताए । बजेटमा नयाँपन नदेखिएको उनको टिप्पणी छ । एमाले प्रदेशसभा सदस्य तारादेवी ढकालले मन्त्रीहरूले आफ्ना क्षेत्रमा मात्र बजेट पारेको भन्दै यसको सन्देश राम्रो नगएको बताइन् । उनले बजेट कार्यान्वयनमाथि पनि प्रश्न उठाइन् । आगामी आर्थिक वर्षको बजेटमा विशेषगरी भौतिक पूर्वाधारमन्त्री भुपेन्द्र राई र पर्यटनमन्त्री सदानन्द मण्डलले आफ्नो क्षेत्रमा बढी बजेट लगेको भन्दै सदनमा चर्को आलोचना भइरहेको छ । यही विषयमा आइतबार कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सदस्यहरूले समेत आलोचना गरेका थिए । भौतिक पूर्वाधारतर्फ सरकारले १० अर्बभन्दा धेरै बजेट विनियोजन गरेको छ । यसमध्ये करिब एक अर्ब मन्त्री राईले खोटाङ र आफ्नो क्षेत्रमा लगेको भन्दै प्रदेशसभा सदस्यहरूले विरोध गरिरहेका छन् । माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेतीले भौतिक पूर्वाधार र पर्यटनमन्त्रीले डेढ अर्बभन्दा बढी बजेटका कार्यक्रम आफ्ना क्षेत्रतिर खन्याएको भन्दै असन्तुष्टि जनाए । माओवादीका प्रदेशसभा सदस्य गणेश उप्रेतीले बजेट कटाउने कोसी प्रदेशका मन्त्रीप्रति असन्तुष्टि जनाए ।  आइतबार प्रदेशसभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले असन्तुलनको पहाडको रूपमा बजेट आएको आरोप लगाए । मालपोत उठाउने मन्त्रालयले पुल बनाउने बजेट हालेको छ । प्रहरी हेर्ने मन्त्रालयले बाटो बनाउने पैसा खन्याएको उनले बताए । उनले पर्यटनमन्त्री सदानन्द मण्डलको क्षेत्रमा समग्र मन्त्रालयको २५ प्रतिशत बजेट लगिएको सदनसमक्ष जानकारी गराए । मुख्यमन्त्रीलाई सदनमा नयाँ बजेटमा सानो संख्यामा भएको प्रतिपक्षीका पुराना योजनालाई न्याय गर्नुस् भने पनि काटिएको गुनासो गरे ।