इटहरी । धरान उपमहानगरपालिका वडा नं १६ मा निर्माणाधीन प्रहरी चौकीबारे हाल सामाजिक सञ्जालमा विभिन्न भ्रामक र आधारहीन समाचारहरू सार्वजनिक भइरहेको भन्दै वडाध्यक्ष मुरारी प्रसाद भट्टराईले स्पष्टीकरण दिएका छन्। आज सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै धरान १६ का वडाध्यक्ष भट्टराईले सो चौकी निर्माण प्रक्रिया विधिवत् रूपमा अगाडि बढेको र हालसम्मका सबै प्रक्रिया नियमसंगत रहेको बताए ।

अध्यक्ष भट्टराईले १६ नं वडामा प्रहरी चौकी स्थापना गर्न वडाबाट २०८० साल जेठ १७ गते चलानी नं २७८५ मार्फत धरान उपमहानगरपालिकालाई सिफारिस गरिएको र त्यसको भोलिपल्ट २०८० जेठ १८ गते उपमहानगरको कार्यपालिका बैठकले नौलो बस्तीमा प्रहरी चौकी स्थापनाको निर्णय गरेको उल्लेख गरिएको छ। त्यसपछि मिति २०८० जेठ २८ गते उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय सुनसरीलाई प्रहरी चौकी स्थापनाका लागि सिफारिस पत्र पठाएको थियो। २०८०र८१ मा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सो प्रहरी चौकीका लागि रु २५ लाख रुपैयाँ बजेट समेत विनियोजन भएको वडाध्यक्ष भट्टराईले बताए ।

तर, समय अभावका कारण जिल्ला प्रहरी कार्यालय सुनसरीले तोकिएको समयमा निर्माण कार्य अघि नबढाएको र त्यस्ता समस्याहरू अरू स्थानीय तहहरूमा पनि देखिएको वडाध्यक्ष भट्टराईको भनाई छ ।