लक्षण पौडेल
इटहरी । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) इटहरीले आगामी असार १४ गते इटहरीमा श्री जगन्नाथ रथयात्रा महामहोत्सव–२०८२ आयोजना गर्ने भएको छ । इस्कोन इटहरीले सोमबार पत्रकार सम्मेलन गर्दै महामहोत्सवबारे जानकारी दिएको हो । आयोजकका अनुसार रथयात्रामा पूर्वी नेपालका विभिन्न जिल्लाबाट करिब १० हजार भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ । रथयात्रा इस्कोन प्रचार केन्द्र हटियालाईन, इटहरीबाट दिउँसो २ः३० बजे सुरु भई शहरका प्रमुख भाग परिक्रमा गर्दै बेलुकी ६ बजे सोही स्थानमा समापन गरिने कार्यक्रम रहेको छ । रथयात्रा समापनपछि महाप्रसाद वितरण गरिनेछ । यात्रा अघि असार ११, १२ र १३ गते बेलुकी ४ देखि ६ बजेसम्म जगन्नाथ कथा महोत्सव सञ्चालन हुनेछ । त्यस्तै, असार १४ गते वैदिक ग्रन्थहरूको प्रदर्शनी पनि आयोजना गरिनेछ । इस्कोन इटहरीका अध्यक्ष ललित बहादुर बानियाले रथयात्रा धार्मिक मात्र नभई सामाजिक सद्भाव, आध्यात्मिक चेतना र वैदिक मूल्यबोध विस्तार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको बताउनु भएको छ ।


