इटहरी । एसियन हाईवे निर्माण क्रममा बन्द भएको पथरी खोला – लामाटोली पैंनी यहि असार ११ गते सम्ममा पुलको पुर्व पट्टि ह्युम पाइप जडान गरी सुचारु गरिने भएको छ । आईतबार नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको कार्यकक्षमा  पथरी लामाटोली पैंनी उपभोक्ता समितिका पदाधिकारी, एसियन हाइवे निर्माण कम्पनीका प्रतिनिधि तथा प्राविधिक र जनप्रतिनिधिहरूबिच सहमति भएको  हो ।  एसियन हाइवे निर्माण कम्पनीले  हाल निर्माण भइरहेको पथरी खोला पूलको उत्तरमा मुहान बनाई  पुलकै पूर्वबाट निरन्तर रुपमा बग्ने गरी संचालनमा ल्याउने गरी कार्य  थालनी भएको  वडा नम्बर २ का वडाध्यक्ष नैना राइले जानकारी दिनुभयो । उहाँका अनुसार नगर प्रमुख तुम्बापोले हाइवेका ठेकदार प्रजापति श्रेष्ठ र ठेकेदार प्रमुख डोरमणि पौडेललाई किसानहरूको समस्यालाई  गम्भीरता पूर्वक लिएर अविलम्व  समाधान गर्न अनुरोध सहित टेलिफोन संवाद गर्नुभएको थियो। उक्त छलफलका क्रममा पैनी उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र ढकाल, पूर्व अध्यक्ष केशव दाहाल, वडा नम्बर २ का वडाध्यक्ष नैना राई, वडा नम्बर ७ का वडाध्यक्ष उद्धवराज बस्नेत तथा वडा जनप्रतिनिधिहरू, एसियन हाइवे कम्पनीका तर्फबाट स्थानीय प्रतिनिधि तथा प्राविधिकहरूको उपस्थिति  थियो । हालसम्म पथरी खोला माथि एसियन हाइवे सडकखण्डको मापदण्ड अनुसार पुल निर्माण कार्य सम्पन्न नहुँदा ’मानु रोपेर मुरी उब्जाउने’ किसानहरू सिंचाईको मूख्य श्रोत नै  भत्किएकोले धान रोपाइँ  गर्न नपाइने हो कि भनेर चिन्तित देखिएका छन् । राष्ट्रिय धान दिवस आगामी असार १५ गते हर्ष– उल्लासका साथ सुरु हुँदैछ । समयमै कुलो पैंनीमा निर्माण भए पथरी शनिश्चरे वडा नं १,२  र ७ का  २ सय  बढी किसानहरूले प्रत्यक्ष लाभ प्राप्त गर्नेछन् । पथरी शनिश्चरे नगरभित्र  कुल जनसङ्ख्याको ८५ प्रतिशत नगरवासीहरू कृषि पेशामा नै आबद्ध छन् ।