इटहरी । मेची राजमार्गस्थित पाँचथर ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको हो । सोमबार साँझदेखि निरन्तर भइरहेको वर्षाका कारण हेंवा खोलामा आएको बाढीले अस्थायी डाभइर्सन बगाएपछि सडक अवरुद्ध भएको हो । मङ्गलबार बिहानैदेखि मेची राजमार्गस्थित पाँचथर ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको हो । खोलामा पानीको सतहले डाइभर्सन पार गरेसँगै यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । हेंवा खोला भएर इलाम र पाँचथरबाट ताप्लेजुङ तथा ताप्लेजुङदेखि पाँचथर हुँदै इलाम र झापातर्फ जाँदै गरेको सवारीसाधन बाटैमा रोमिएका छन् ।
यस्तै, बाढीका कारण फिदिम याङनाम फालौट सडक खण्डमा पर्ने फेमे र मुवा खोलाका डाइभर्सनमा पनि आंशिक क्षति पुगेको छ । हेंवामा पानीको बहाव घटेको छैन भने अन्य क्षेत्रमा पानी परिरहेकाले तत्काल वर्षा रोकिने सम्भावना नरहेको बताइएको छ । खोला घटेसँगै डाइभर्सन मर्मत गरेर सवारी खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिनुभयो । गत असोज १२ गते आएको बाढीले पुल बगाएपछि अस्थायी डाइभर्सन बनाएर सवारी सुचारु गराइँदै आइएको छ । हेंवा खोलाम निर्माण भइरहेको बेलिब्रिज गत जेठ ३१ गते भाँचिएसँगै यो क्षेत्रका यात्रुले पुनः सकस व्यहोर्नु परेको हो ।


