इटहरी । नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीमा तहत रहेको भगवतीदल गणको जिम्मेवारी क्षेत्र सुनसरी जिल्लाका नौ वटा विद्यालयहरुमा एनसीसी तालिम सुरु गरिएको छ । आर्थिक वर्ष २०८२र८३ मा नेपाल भर ७७ वटै जिल्लामा सात हजार ७१० जना विद्यार्थीहरुलाई समावेश गरी एनसीसी तालिम गराउने नेपाली सेनाको लक्ष्य अनुरुप सुनसरी जिल्लाको धरानस्थित सैनिक आवसिय महाविद्यालय र आईडियल ईङ्गलिस बोर्डिङ्ग स्कुल, गढीस्थित सरस्वती मावि, स्थित महेन्द्र मेमोरियल एकेडेमी र विष्णु मावि, ईटहरीको बालविकाश ईङ्गलिस बोर्डिङ्ग स्कुल र पशुपती ईङ्गलिस बोर्डिङ्ग स्कुल, बराहस्थित जगन्नाथ डेडराज जनता मावि र सहिद स्मृती आवसिय माविमा तालिम सुरु गरिएको हो ।
अनुशासन नै राष्ट्र सेवाको मुल जंग हो भन्ने आर्दश वाक्य राखेर सञ्चालनमा ल्याइएको तालिममा प्रत्येक विद्यायलयबाट १५ जना छात्र तथा १५ जना छात्रा गरी जम्मा नौ वटा विद्यालयबाट जम्मा २७० जना विद्यार्थीहरु सहभागी रहेको भगवती दल गणका गणपति प्रमुख सेनानी राजन भुजुले जानकारी दिनुभयो । सो तालिममा सहभागी भएका विद्यार्थीहरुमध्ये दुहवीस्थित विष्णु माविबाट मुस्लिम समुदायबाट १२ जना छात्र र पाँच जना छात्रा, मुसहर समुदायका पाँचजना छात्रा, चौधरी समुदायका दुई छात्र र तीन छात्राका साथै मेहता समुदाय, ठाकुर समुदाय र मुसहर समुदायबाट एक एकजना सहभागी रहेका छन् । नेपाली सेनाको उद्देश्य अनुरुप सम्पूर्ण जातजाति, धर्म, लिङ्ग, आदिवासी एवम् गरिबिको रेखामुनी बसेका तथा सिमा क्षेत्रमा बसोवास गर्ने विपन्न, गरीब तथा असहाय समुदायलाई समेटी तालिम सञ्चालन गरिएको बताइएको छ ।
सो तालिमअन्तर्गत संस्थागत तालिम ७९ दिन र सामूहिक क्याम्प २१ दिनको गरी दुई चरणमा एक सय दिन अवधिको रहने छ । उक्त तालिममा सहभागी हुने उत्कृष्ट प्रशिक्षार्थीले विभिन्न मित्र राष्ट्रहरुमा समेत भ्रमण गर्ने अवसर प्राप्त गर्ने पनि बुझिएको छ । सो तालिम समापन पश्चात तालिममा सहभागी युवा जनशक्तिमा नेतृत्व गर्न सक्ने कला एवम् अनुशासित र दक्ष युवा स्वयम् सेवक दस्ता उत्पादन गर्न मद्दत पुग्नको साथै राष्ट्रलाई सङ्कटको बेला समाज र समग्र राष्ट्रको सेवा गर्न सक्षम युवा जनशक्ति उत्पादन गर्ने लक्ष्य प्राप्त हुन सहयोग पुग्ने विश्वास गरिएको छ ।


