इटहरी / सडक सुरक्षामा सक्रियता, कर्तव्यनिष्ठा र अनुशासनको उदाहरण बनेका प्रहरी सहायक हवल्दार मनोज बास्तोला नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीबाट २०७९ साल जेठ महिनाको “उत्कृष्ट ट्राफिक प्रहरी” उपाधिमा सम्मानित भएका छन्।
QRT ड्युटी अन्तर्गत इटहरीका मुख्य चोक, राजमार्ग र जोखिमयुक्त क्षेत्रहरूमा खटिएका बास्तोलाले विभिन्न ट्राफिक समस्याहरूलाई व्यवस्थित गर्न कुशलता देखाएका थिए। उनले मोटरसाइकलमा स्वरूप परिवर्तन गरी चलाउने तथा साइलेंसर हटाएर ध्वनि प्रदूषण फैलाउने सवारी चालकहरूलाई नियन्त्रणमा ल्याएर कानुनी कारबाही गरेका थिए।

त्यसैगरी सार्वजनिक यातायातमा क्षमता नाघी यात्रु बोक्ने, छतमा यात्रु चढाउने, आरक्षण सिटको व्यवस्था नगर्ने र तोकिएको भाडा नलिने जस्ता अनियमिततालाई नियन्त्रण गरी जरिवाना समेत गराएका थिए।
केवल ट्राफिक नियम कार्यान्वयनमा मात्र होइन, सडक दुर्घटनामा घाइते भएकाहरूको तत्काल उद्धार, अस्पताल पु¥याउने र जनचेतना कार्यक्रमहरू सञ्चालन गर्दै दुर्घटना न्यूनीकरणमा उल्लेखनीय भूमिका खेलेका कारण उनलाई सम्मानित गरिएको हो।
प्रहरी नायव उपरीक्षक तथा निमित्त कार्यालय प्रमुख सन्तोष श्रेष्ठले बास्तोलाको यो योगदानलाई विशेष मूल्याङ्कन गर्दै औपचारिक रूपमा उत्कृष्ट प्रहरीको घोषणा गरेका हुन्। उनी हाल ट्राफिक प्रहरी प्रदेश कार्यालय इटहरीमा कार्यरत छन्।


