इटहरी / किशोर–किशोरीहरूमा सूचना प्रविधिको ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले इटहरीका सामुदायिक विद्यालयहरूमा सूचना प्रविधिसम्बन्धी तालिम सुरु गरिएको छ। काफल्स मल्टिप्रपाेज कम्पनीको आयोजनामा तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा सञ्चालित तालिम कार्यक्रमको पहिलो दिन शारदा माध्यमिक विद्यालय, खनारबाट सुरु गरिएको हो।
इटहरी उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष भुवनराज पोखरेलको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा करिब ७० जना विद्यार्थीहरू सहभागी थिए। उनीहरूसँगै विद्यालयका शिक्षकहरू समेतले सूचना प्रविधि र यसको प्रयोगबारे जानकारी लिएका थिए।
कार्यक्रममा सूचना प्रविधिको दुरुपयोगका सम्भावना, जोखिम तथा सचेत प्रयोगबारे सहजीकरण सन्तोष धमला र विकल पौडेलले गरेका थिए। तालिममार्फत किशोर–किशोरीहरूमा डिजिटल साक्षरताका साथै सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
इटहरी उपमहानगरपालिका शिक्षा शाखाको समन्वयमा भइरहेको तालिम प्रभावकारी रहेको जनाउँदै वडा अध्यक्ष पोखरेलले यस्तो किसिमको तालिम सामुदायिक मात्र नभई निजी विद्यालयमा पनि अनिवार्य रूपमा सञ्चालन गर्दै लाने बताउनुभयो।


