भोजपुर – भोजपुरको रामप्रसादराई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४६ करोड ८१ लाख ९४ हजार ४०७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न गाउँपालिकाको १४ औं गाउँसभाबाट नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो।

गाउँपालिका उपाध्यक्ष विरेन्द्र राईले सभा समक्ष चालु तथा पुँजीगत खर्च सहितको बजेट प्रस्तुत गर्नुभयो। प्रस्तुत बजेटमा कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिइएको छ भने शिक्षा, स्वास्थ्य, पूर्वाधार,पर्यटन  र सामाजिक समावेशितालाई समेत बजेटमा समेटिएको छ।

उपाध्यक्ष राईका अनुसार गाउँपालिकाको मुख्य लक्ष्य स्थानीय उत्पादनमा वृद्धि गर्दै किसानलाई आत्मनिर्भर बनाउने हो। त्यसका लागि विभिन्न कृषिक योजनाहरू, सहजीकरण कार्यक्रम, तालिम र प्रविधि हस्तान्तरणका कार्यहरू सञ्चालन गरिनेछन्। साथै, गाउँपालिकाको समृद्धि र रोजगारी सिर्जनामा टेवा पुर्‍याउने विश्वासका साथ पर्यटन प्रवर्द्धन कार्यक्रम पनि अघि सारिएको छ।

गाउँपालिकाले गाउँभरिको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालय पूर्वाधार, शिक्षण सामग्री, सिकाइ अनुगमन, शिक्षक अभिमुखीकरण जस्ता कार्यक्रम अघि सारेको छ। गाउँपालिकाका सबै वडा र बस्तीलाई सडक सञ्जालमार्फत पालिका केन्द्रसँग जोड्ने दीर्घकालीन योजना अनुसार सडक निर्माण, मर्मत तथा स्तरोन्नतिमा बजेट विनियोजन गरिएको छ।

नीति तथा कार्यक्रममा आदिवासी जनजाति, दलित, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिका र जेष्ठ नागरिक जस्ता लक्षित समुदायका लागि समेत विशेष कार्यक्रमहरू समावेश गरिएका छन्। सामाजिक सुरक्षा, स्वरोजगार तालिम, स्वास्थ्य सहायता र सचेतना अभिवृद्धिजस्ता कार्यका लागि पनि बजेट छुट्याइएको छ।

गाउँपालिका अध्यक्ष थाम बहादुर राई (निर्माण)ले गाउँसभामा बोल्दै भन्नुभयो, "जनताको आवश्यकता बुझ्दै र स्थानीय स्रोतको अधिकतम सदुपयोग गर्दै बजेट तयार गरिएको छ। बजेटलाई कार्यान्वयनमा ल्याउने क्रममा पारदर्शिता, उत्तरदायित्व र जनसहभागितामा कुनै सम्झौता हुने छैन।"

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आङलाक्पा तामाङले शिक्षा र पूर्वाधारमा केन्द्रित कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो।

सर्वसम्मत रूपमा पारित यो बजेटले गाउँपालिकाको समग्र विकास र स्थानीय जनताको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।