इटहरी । असारको तेस्रो साता सकिन लाग्दा पनि झापामा पर्याप्त वर्षा नहुँदा बर्खे धानको रोपाइँ प्रभावित भएको छ। हल्दिबारी(६ का किसान रतनकुमार भुलेलले अघिल्लो वर्ष यो समयसम्म रोपाइँ गरेर खसिया समेत गरिसकेको बताउँछन् । कृषि ज्ञान केन्द्र झापाका अनुसार गत वर्ष यति बेलासम्म करिब २५ प्रतिशत रोपाइँ भइसकेको थियो, तर यो वर्ष १४ प्रतिशत मात्र रोपाइँ भएको छ। केन्द्रका प्रसार अधिकृत चेतराज भण्डारीले किसानहरूले मोटरको सहायताले सिँचाइ गर्न थालेकाले आगामी दिनमा रोपाइँमा केही गति आउने विश्वास व्यक्त गरेका छन् । झापामा गत वर्षझैँ यसपालि पनि मलको अभावले किसानलाई थप समस्यामा पारेको छ। कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार कृषकहरू लगातार मल नपाएको गुनासो गरिरहेका छन्।
बर्खे धान खेतीका लागि झापामा डिएपी १२ हजार मेट्रिक टन र युरिया १४ हजार मेट्रिक टन आवश्यक पर्छ। तर, माग अनुसार आपूर्ति हुन नसकेको विष्ट बताउँछन्। उनका अनुसार गत वर्ष पनि मागको मात्र १० प्रतिशत मल आपूर्ति भएको थियो। यदि गोबर मलको प्रयोग बढाउन सकियो भने रासायनिक मलको प्रयोग ४० प्रतिशतसम्म घटाउन सकिन्छ,स प्रमुख विष्टको भनाइ छ। धान खेतीको क्षेत्रफल झापामा घट्दै गए पनि उत्पादन भने हरेक वर्ष बढ्दो क्रममा छ। कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०७८र७९ मा धानको उत्पादकत्व ४।८५ टन प्रतिहेक्टर रहेकोमा २०७९र८० मा ४।८९ टन र पछिल्लो आवमा ५।०५ टन पुगेको छ। हाल झापामा धान खेती हुने क्षेत्रफल ८७ हजार ५०० हेक्टरबाट घटेर ७५ हजार ४६९ हेक्टरमा झरेको छ।
तर, प्रविधि, बीउ र व्यवस्थापनमा सुधार भएपछि उत्पादकत्वमा वृद्धि भएको केन्द्रले जनाएको छ । जिल्लाभरि सबैभन्दा धेरै धान खेती गौरादह नगरपालिकामा हुने गरेको छ भने सबैभन्दा कम खेती दमक नगरपालिकामा हुने गरेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ। त्यस्तै, गौरीगञ्ज र कचनकवल गाउँपालिकामा पनि उल्लेखनीय मात्रामा धानखेती हुने गरेको छ।

