इटहरी । लुगा सिलाएर लगाउनेहरुको जमात घट्दै जाँदा लुगा सिलाइको काम गरेर गुजारा गर्नेहरुको पेसा संकटमा पर्दैगएको छ । बजारमा आउने तयारी लुगा लगाउने प्रचलन बढ्दै गएपछि गाउँमै लुगा सिलाएर जीविका चलाउँदै आएकाहरुकोे ग्राहक घट्दै जाँदा पुख्र्यौली पेसा खस्कदै गएको बताइएको छ । सुनसरीको उत्तरी ग्रामीणक्षेत्र राजाबासमा बसोबास गर्ने ५९ वर्षीय खड्ग दर्जी तीन दशकदेखि कपडा सिलाएर जीविका चलाउँदै आउनुभएको छ । गार्मी, जाडो सबै मौसमका लागि रेडिमेट कपडा बजारमा उपलब्ध हुदाँ कपडा सिलाएर लाउनेहरुको सङ्ख्या घट्दै गएको उहाँको भनाइ छ । खड्ग दर्जी लुगा सिलाउने प्रतिनिधि पात्र मात्र हुनुहुन्छ, उहाँजस्ता गाउँमा धेरै दर्जी टेलर्सहरुको कमाइ घटदैगएको छ । चाडपर्व, मेलापर्व नजिकिँदा कपडा किनेर नापअनुसारको लुगा सिलाउन दिने मानिसको भिड हुन्थ्यो । गर्मी याम, जाडो यामका लुगादेखि विशेष अवसर, घरमा बस्दा लगाउने सामान्य लुगासम्म कपडा किनेर नाप दिएर सिलाउने प्रचलन थियो ।
चाडबाड, बिहे, ब्रतबन्धजस्ता शुभ कार्यमा लुगा सिलाउनेलाई भ्याइनभ्याइ हुन्थ्यो । बजारमा ग्राहकले भनेजस्तो, खोजेजस्तो लुगा तयारी अवस्थामा पाउन थालेसँगै लुगा सिलाएर जीविका गर्नेहरुले काम पाउन छाडेका छन् । अधिकांश मानिसहरु कपडा किनेर टेलरमा सिलाउन दिने चलन थियो । पुरुषका दौरा, सुरुवाल, सर्ट पाइन्ट, हाफपेन्ट, महिलाका म्याक्सी, जामा, कुर्ता, सुरुवाल, ट्राउजर, चोलो, साया लगायतका लुगाहरु सिलाएरै लगाउने चलन थियो । पहिला गाउँघरमा लुगा सिलाउन भ्याइनभ्याइ हुन्थ्यो । ज्याला र बालीका दुबै ग्राहक हुन्थे । अहिले बालीमा लुगा सिलाउने चलन त पूरै हटिसकेको छ, ज्याला दिएर सिलाउने पनि कम आउन थालेका प्रकाशपुरका काजिमान परियारले बताउनुभयो । समयसँगै प्रविधिको विकास हुदाँ कम्पनीहरुले नै तयारी पोसाक बनाउँदा थानका कपडा सिलाएर लाउनेहरु पनि रेडिमेट कपडा लगाउन थालेपछि सिलाएर लगाउनेहरुको संख्या घट्दैगएको छ ।
प्रायः सबैले तयारी कपडा नै लगाउने हुँदा थानका कपडा सिलाएर लगाउनेहरु घट्दैगएका छन् । जसलेगर्दा लुगा सिलाउनेको रोजगारी पनि घट्दैगएको छ । सबैभन्दा बढी लुगा सिलाएर लाउने विद्यालयका विद्यार्थीको पोसाक समेत रेडीमेट टिसट, ट्राउजर आउन थालिएपछि लुगा सिलाउनेको संख्या थप घट्दै गएको हो । नयाँ फेसनका कपडा गाउँ–गाउँमा आउन थालेपछि फेसनको रेडिमेट कपडा लगाउने जमात गाउँमा बढ्दा नेपाली रुपियाँ समेत बहिरिने गरेको छ ।


