इटहरी । विद्यालयस्तरदेखि नै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने लक्ष्यसहित इटहरीमा सञ्चालन हुँदै आएको ग्रासरुट फुटबल क्याम्प २४३ औं हप्ता पुगेर केहि समयकालागि स्थगित गरिएको छ । छ वर्षअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुरु गरेको यो कार्यक्रम हाल इटहरी फुटबल क्लब, द ब्वाइज क्लब र राष्ट्रिय जागृति क्लबको सहकार्यमा सञ्चालन हुँदै आएको थियो । एन्फाको आर्थिक सहयोग रोकिएपछि तीन वर्षदेखि इटहरी उपमहानगरपालिका–६ को आर्थिक सहयोगमा क्याम्प सञ्चालन भइरहेको थियो । तर, चालु आर्थिक वर्षको बजेट सकिएसँगै कार्यक्रम अस्थायी रूपमा स्थगित गरिएको वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेलले जानकारी दिनुभयो । उहाँले वर्षा ऋतुको कारण पनि केही समय कार्यक्रम रोकिएको बताउनुभयो । कार्यक्रम संयोजक तथा एन्फा कोशी प्रदेशका सहमहासचिव केशव कार्कीका अनुसार, बालबालिकामा फुटबलप्रतिको चासो देखेपछि भविष्यका लागि आधार तयार गर्न ग्रासरुट कार्यक्रम सुरु गरिएको हो। साथै, स्थानीय क्लबहरूले उमेर समूहका प्रतियोगितालाई पनि प्राथमिकतामा राख्दै आएका छन् । राष्ट्रिय जागृति क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले स्थानीय तहबाट खेलकुदमा दिइएको चासोले थुप्रै नयाँ प्रतिभा बाहिर ल्याउन सहयोग पुगेको बताउनुभयो । २४३ हप्ता देखि सञ्चालन भइरहेको क्याम्पमा सुनसरी र मोरङ जिल्लाका तीन सयभन्दा बढी बालबालिकाको सहभागिता रहँदै आएको छ । विद्यालय विदाको दिन हरेक शनिबार सञ्चालन हुने क्याम्पमा राष्ट्रिय प्रशिक्षकहरूले बालबालिकालाई फुटबलका आधारभूत सीपहरू सिकाउँदै आएका थिए । मुख्य प्रशिक्षक तथा राष्ट्रिय महिला टिमका पूर्व सहायक प्रशिक्षक श्याम मानन्धरका अनुसार, ग्रामीण क्षेत्रका बालबालिका समेत सक्रिय रूपमा सहभागी हुँदै आएका छन्। प्रशिक्षक राजकुमार श्रेष्ठ, अभिषेक कालिकोटे, सन्दीप कोइराला लगायत एन्फा प्रशिक्षकहरू प्रशिक्षणमा खटिएका थिए ।