इटहरी । मोरङको सुन्दरहरैचा – ५ मा रहेको  नमुना सामुदायिक वनलाई सालको पातको दुना टपरी बनाउन मेसिन हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय मोरङले शनिबार हसिना सिमसारमा एक कार्यक्रम आयोजना गरी दुना टपरी बनाउने मेसिन हस्तान्तरण गरेको हो ।  डिभिजन वन कार्यालय मोरङका वन अधिकृत उत्सव थापाले नमुना सामुदायिक वनका अध्यक्ष घनश्याम न्यौपानेलाई उक्त मेसिन हस्तान्तरण गर्नुभएको हो । वनमा खेर गइरहेका सालका पातलाई सङ्कलन गरेर दुना टपरी बनाइ आर्थिकोपार्जन गर्न सकिने उद्देश्यले मेसिन उपलब्ध गराईएको वन अधिकृत उत्सव थापाले बताउनुभभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सुन्दरहरैचा – ५ का अध्यक्ष गणेश चौधरीले वनमा अत्यधिक सालका रुखहरू हुने क्षेत्र भएकाले त्यस वडाको पुरुष तथा महिला दिदीबहिनीहरूलाई उद्यमी बनाउन सहयोग पुग्ने हेतुले दुना टपरी बनाउने मेसिन उपलब्ध गराएको भन्दै डिभिजन वन कार्यालयलाई धन्यवाद दिनुभयो । अध्यक्ष चौधरीले अहिले प्रत्येक घर घरमा विवाह, व्रतबन्ध, पाश्नी, पूजापाठ, मेला महोत्सवमा जता जाँदा पनि अत्यधिक मात्रामा बाहिरबाट ल्याइएका प्लास्टिकका भाडाहरू व्यापक प्रयोग भएको पाइएको भन्दै त्यसलाई अन्त्य गर्न दुना टपरी बनाउने मेसिन प्रयोगमा आएको भन्दै  दुना टपरी स्वास्थ्यको लागि पनि लावदायी रहेको बताउनुभयो । हसिना सिमसार क्षेत्रका अध्यक्ष समेत रहनुभएका नमुना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष न्यौपानेले अति विपन्न तथा गरिब उपभोक्ताको छनोट गरी दुना टपरी बनाइ स्वरोजगार बनाउनको लागि मेसिन उपयोगी रहेको बतउनुभयो ।  बजारमा भारतबाट आयतीत प्लाष्टिकका सामग्रीलाई यसले विस्थापित गर्ने उहाँको भनाइ छ ।  अध्यक्ष न्यौपानले अब देखि हसिना सिमसारमा वनभोज (पिक्निक)  खान आउनेहरुले प्लास्टिकका भाडाहरू ल्याउन नपाउने र सहुलियत दरमा नै सालको पातको दुना टपरी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।