इटहरी । धनकुटाको छथरजोरपाटी गाउँपालिका–१, हात्तीखर्कका सञ्जीव कटुवालले चार वर्षअघि आठ वटा उन्नत जातका गाई पाल्न थाल्नुभयो । साथीभाइ विदेश गइरहँदा कटुवाल भने स्वदेशमै गाईपालनमा लागेर दुग्ध पदार्थ उत्पादनमा लाग्नुभयो । केही वर्ष व्यवसाय रामै्र चल्यो, दैनिक १५० लिटरसम्म दुध बेचेको उहाँले सुनाउनुभयो । दुग्ध विकास संस्थानलाई दुध बेचेबापतको रकम बक्यौता रहँदा उहाँ यो पेसाबाट विस्थापित हुने अवस्थामा पुग्नुभएको हो । अहिले पनि सात महिनायता भुक्तानी नपाएको कटुवाल बताउनुभयो । धनकुटा नगरपालिका–६ का टीकाराज कार्की पनि विदेशबाट फर्किएर ११ वर्षअघि गाईपालनमा लाग्नुभयो । कटुवालको जस्तै समस्या खेपेपछि कार्की नौ वर्षसम्म राम्रै चलेको व्यवसाय छोडेर पुनः विदेश जाने तयारीमा हुनुहुन्छ । गोठका एक दर्जनभन्दा बढी गाई अहिले मासिएका छन् ।

धनकुटामा पछिल्लो समय कटुवाल र कार्की जस्तै धेरै पशुपालक कृषक समयमा दुधको भुक्तानी नपाउँदा विस्थापित हुने अवस्थामा छन् । समस्या धनकुटामा मात्रै होइन कोशी प्रदेशका सातै जिल्लाका दुग्ध उत्पादकले कात्तिकदेखि नै दुध बेचेको रकम पाउन सकेका छैनन् । दुग्ध विकास संस्थान विराटनगरको तथ्याङ्क अनुसार गत जेठसम्ममा कोशी प्रदेशका करिब छ हजार कृषकको कुल १८ करोड ५० लाख रुपियाँभन्दा बढी रकम भुक्तानी हुन बाँकी छ । असारको रकम यसमा जोडिएको छैन । बक्यौता रकम भुक्तानीका लागि प्रक्रिया चलिरहेको दुग्ध विकास संस्थान विराटनगर आयोजना प्रमुख हिरबहादुर मगरले बताउनुभयो । अहिले कृषकले गाई व्यवस्थापन गर्न तथा बैङ्कको किस्ता तिर्न महँगो ब्याजमा ऋण लिनुपर्ने अवस्था आएको धनकुटा मारेक कटहरेका कृषक तथा दुग्ध उत्पादन सङ्घ धनकुटाका अध्यक्ष नारद कटुवाल बताउनुहुन्छ ।

आर्थिक वर्ष २०८०र८१ मा धनकुटा जिल्लामा १७ हजार ३१३ मेट्रिक टन दुध उत्पादन भएकोमा यो आवमा १३ हजार मेट्रिक टन पनि दुध उत्पादन हुने अवस्था नरहेको पशुविज्ञ सेवा केन्द्र तथा भेटेरिनरी अस्पताल धनकुटाका पशु विकास अधिकृत दिनेश कार्की बताउनुहुन्छ । कृषकले भुक्तानीको माग राख्दै पटक पटक आन्दोलनसमेत गरेका छन् । प्रत्येक आन्दोलनको उपलब्धि आश्वासनमै सीमित भएको चञ्चलादेवी दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष नगेन्द्र पाण्डे बताउनुहुन्छ ।