इटहरी । मोरङ्गको पथरी शनिश्चरे –१० भुटानी शरणार्थी शिविर डाँडामा नेपालका १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको सालिक स्थापना गरिएको छ । आईतबार प्रमुख अतिथि किराँत धर्मका प्रमुख माङसेवा सावा मनप्रसाद थलङ तथा पथरी शनिश्चरे संयुक्त धार्मिक स्थल संरक्षण समितिका पद्धाधिकारीहरूले उक्त शालिकको संयुक्त रूपमा अनावरण गर्नुभएको हो । १६ औं राष्ट्रिय विभूति एवम् किरात धर्मका महागुरु फाल्गुनन्दको शालिक अनावरण गर्दै प्रमुख अतिथि मनप्रसाद थलङले ’महागुरुको शालिक अनावरणले थप धार्मिक तथा पर्यटकीय महत्व राख्ने’ बताउनुभयो। महागुरु फाल्गुनन्दको शालिक अनावरणसँगै यस नगरको आन्तरिक पर्यटनमा थप विकास तथा प्रवर्धन गर्ने प्रचुर सम्भावना रहेको उहाँले विश्वास व्यक्त गर्नुभयो । अनावरणका क्रममा पथरी शनिश्चरे संयुक्त धार्मिक स्थल संरक्षण समितिका अध्यक्ष बानेन्द्र राई, उपाध्यक्ष टेकबहादुर थापा, सचिव सुरेश कार्की , मोरङ जिल्ला माङसेवा सावा पदमबहादुर नेम्बाङ लगायतले महागुरु फाल्गुनन्दको प्रतिमामा दीप प्रज्वलन ,माल्यार्पण सहित ओमकार गर्नुभएको थियो। महागुरु फाल्गुनन्दको प्रतिमा निर्माणको गत वैशाख २४ गते समाज सुधार दिवसका अवसरमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले शिलान्यास गर्नुभएको थियो । विगत ३०–३५ वर्षदेखि शिबिर डाँडा क्षेत्रमा विभिन्न जाति र समुदायका धार्मिक संस्थाहरूले वर्षेनी धार्मिक तथा पर्यटकीय गतिविधिहरू संचालन गर्दै आइरहेका छन् ।
