इटहरी । सुनसरीको गढी गाउँपालिका वडा नं. १, स्थानीय सेवा, योजना र सुशासनको सन्दर्भमा केन्द्रित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा सम्पन्न सो कार्यक्रममा जनप्रतिनिधि, स्थानीय नागरिक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष प्रदिप कुमार चौधरी, गाउँपालिकाका उपाध्यक्ष अनिता कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्का, वडा सदस्यहरू, कर्मचारी, शिक्षक, सामाजिक अभियन्ता तथा विभिन्न समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सार्वजनिक सुनुवाई कार्यक्रममा अघिल्लो वर्ष गाउँपालिकाबाट प्रवाह गरिएका सेवा, विकास निर्माण, बजेटको खर्च, योजना छनोट र कार्यान्वयनको अवस्था सम्बन्धी विस्तृत विवरण प्रस्तुत गरियो। साथै, सहभागी स्थानीय नागरिकहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि, सामाजिक सुरक्षा, अपांगता सेवा, वृद्धभत्ता वितरणलगायत विषयमा गुनासो, सुझाव र प्रश्नहरू राख्ने अवसर पाएका थिए ।

WhatsApp Image 2025-07-08 at 00.19.01_18766660

कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष अनिता कुमारी साहले नागरिकको आवाजलाई सुन्ने, बुझ्ने र सोही आधारमा नीति तथा कार्यान्वयनमा सुधार ल्याउने प्रक्रियालाई मजबुत बनाउने उद्देश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको बताइन् । प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्काले पालिकाले पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गरिरहेको जनाउँदै नागरिक सहभागिता नै सुशासनको मेरुदण्ड भएको धारणा व्यक्त गरे । वक्ता तथा सहभागीहरूले कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया दिंदै यसले नागरिक र सरकारबीचको विश्वास बढाउने, सेवा सुधारमा प्रत्यक्ष प्रभाव पार्ने र जनउत्तरदायी प्रशासन निर्माणमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । कार्यक्रमको समापनमा वडा अध्यक्ष प्रदीप कुमार चौधरीले उपस्थित सबैलाई धन्यवाद दिँदै सार्वजनिक सुनुवाईजस्ता सहभागीमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।