इटहरी । सुनसरीको गढी गाउँपालिका वडा नं. २ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सेवा प्रवाह, विकास निर्माण, बजेट कार्यान्वयन र नागरिक सरोकारका विषयमा केन्द्रित सो कार्यक्रम जनउत्तरदायिता र पारदर्शिता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष प्रभाकर माझी, गढी गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरी, प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्का, वडा सदस्यहरू, विभिन्न संघसंस्था, टोल विकास संस्था, महिला समूह, युवाहरू तथा आम स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा गढी गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा सम्पन्न गरेका योजना तथा चालु आर्थिक वर्षका प्राथमिकता प्राप्त योजनाहरूको सार्वजनिक विवरण प्रस्तुत गरिएको थियो। साथै, स्थानीय नागरिकहरूले स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, कृषि, सामाजिक सुरक्षा भत्ता, अपांगता परिचयपत्र वितरण, बालबिकास केन्द्रको गुणस्तर जस्ता विषयमा प्रत्यक्ष रूपमा प्रश्न, गुनासो र सुझावहरू राख्न पाएका थिए। सभा सम्बोधन गर्दै पालिका अध्यक्ष आश नारायण चौधरीले जनप्रतिनिधिहरू जनताप्रति जवाफदेही हुनुपर्छ भन्ने अवधारणा अनुसार सार्वजनिक सुनुवाई कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

WhatsApp Image 2025-07-08 at 00.19.10_976c48ea

उहाँले नागरिक सुझावलाई सम्मान गर्दै आगामी योजना निर्माणमा ती समावेश गरिने प्रतिबद्धता समेत जनाउनुभयो। प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्काले पालिकाले अपनाउँदै आएको सेवा प्रवाह प्रक्रियामा नियमित अनुगमन, पारदर्शिता र सहजीकरणलाई प्राथमिकता दिइएको उल्लेख गर्दै, नागरिकको सक्रिय सहभागिता नै सुशासनको आधार हुने बताउनुभयो। कार्यक्रममा सहभागी नागरिकहरूले नियमित रूपमा यस्ता कार्यक्रम हुनुपर्ने, सेवामा गुणस्तर वृद्धि गरिनुपर्ने, कमजोर पक्षको पहिचान गरी तत्काल सुधार ल्याइनुपर्ने सुझाव दिएका थिए। वडा अध्यक्ष प्रभाकर माझीले कार्यक्रममा उठेका गुनासो तथा सुझावहरूलाई गम्भीर रूपमा लिइने र समाधान खोज्ने दिशामा पालिकासँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।