इटहरी स् झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीमा पार्किङ गरी राखिएको यात्रुवाहक म्याजिक भेनमा अचानक आगलागी हुँदा गाडीमा क्षति पुगेको छ।

बिहीबार बिहान करिब २ः५० बजे चुडामणि भट्टराईको घरको उत्तरपट्टि गाडी पार्किङका लागि बनाइएको स्थानमा राखिएको मे १ ज २५६१ नम्बरको म्याजिक भेनमा आगलागी भएको हो। बुद्धशान्ति–३ निवासी दाताराम अधिकारीको नाममा रहेको उक्त गाडीमा आगलागी हुँदा भित्री भाग पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट गाडीभित्र राखिएको गाईवस्तुको कुटी काट्ने प्रयोजनका लागि भर्खरै खरिद गरिएको एउटा नयाँ विद्युतीय मोटरसमेत जलेको छ। त्यसैगरी गाडीका कागजपत्रमा पनि क्षति पुगेको छ। पार्किङमा राखिएको गाडीमा अचानक आगलागी हुनुको कारण खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।