इटहरी । वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रका नागरिकको लागि शव वाहन सेवा निःशुल्क गरेको छ । नगपालिकाले नगरबासीका लागि शव घरदेखि घाटसम्म पुर्‍याउन शव वाहन निःशुल्क सञ्चालनमा ल्याएको हो । नगरपालिकामा शव वाहन नहुँदा अन्तिम संस्कारका लागि घाटसम्म र पोष्टमार्टमका लागि शव लैजान सवारी पाउन समस्या र सवारी भेटिए पनि महँगो शुल्क तिर्नुपर्ने बाध्यता थियो । घरदेखि घाटसम्म शव लैजान शव वाहनको अभाव हुने गरेकाले नगरबासीको आवश्यकता पूर्ति गर्न शव वाहन निःशुल्क सञ्चालनमा ल्याएको बताइएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८१ र २०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार २५ लाख ३९ हजारमा उक्त शव वाहन खरिद गरेको नगरपालिकाले जनाएको छ । घरदेखि घाटसम्म र नगरक्षेत्रभित्र वेबारीसे शव, सप्तकोशी नदी परिसरमा फेला पर्ने शवको पोष्टमार्टमका लागि अस्पतालसम्म पुर्‍याउन शव वाहन खरिद गरिएको नगरप्रमुख रमेश कार्कीले बताउनुभयो । वराहक्षेत्र नगरपालिकाकोे मातहतमा रहनेगरी शव वाहन सेवा सञ्चालनमा ल्याइएको छ । नगरवासीले बाहिरबाट शव वाहन बोलाउँदा महङ्गो शुल्क बुझाउँदै आएकोमा निःशुल्क शव वाहनको सेवाले दुःखद अवस्थामा राहत मिल्ने बताइएको छ ।