इटहरी । इटहरी नृत्यकर्मी समूहको आयोजनामा नेवारी सांस्कृतिक नृत्यको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले इटहरीमा ६ दिने नेवारी नृत्य कार्यशाला भइरहेको छ । इटहरीको लक्ष्मी डान्स स्टुडियोमा असार २० गतेदेखि सुरु भएको उक्त कार्यशाला असार २५ गतेसम्म चल्नेछ । कार्यशालामा नेवारी समुदायमा प्रचलित तीन महत्वपूर्ण नाचहरू – लाखे नाच, घिंमे नाच र ठाकठुके नाच सिकाइँदैछ । कार्यशालामा वरिष्ठ नृत्य प्रशिक्षक महेश प्रकाश हाडाले प्रशिक्षण गराइ रहनुभएको छ । उहाँले विगत लामो समयदेखि नेवारी संस्कृतिको संरक्षणका लागि योगदान दिँदै आउनुभएको छ । नेवार समुदायका लोप हुँदै गएको नाचको विषयमा जानकारी गराएर नाचको संरक्षण तर्फ जुटेको महेश प्रकाश हाडाले बताउनुभयो । त्यस्तै, कार्यशालाबाट युवापुस्तामा मौलिक नृत्यप्रतिको आकर्षण बढ्ने र हराउँदै गएको परम्परागत संस्कृति पुनर्जीवित गराउने उदेश्यले कार्यक्रम गरिएको कार्यक्रम संयोजक प्रनिसा उदासले बताउनु भयो । कार्यशालामा इटहरी ,धरान ,तरहरा लगाएत कोशी प्रदेशका विभिन्न संघ संस्थाबाट प्रशिक्षार्थी सहभागी छन् । दैनिक दिउँसो हुने कार्यशालामा सहभागीहरूले व्यावहारिक प्रशिक्षणसँगै सैद्धान्तिक ज्ञान समेत प्राप्त गरिरहेका छन् । कार्यक्रमको अन्त्यमा सहभागीहरूद्वारा सार्वजनिक प्रदर्शन समेत गरिने आयोजकहरूले जनाएका छन् । आयोजकहरूका अनुसार, यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिई इटहरीलाई पूर्वाञ्चलको सांस्कृतिक केन्द्रका रूपमा विकास गरिने लक्ष्य लिएको छ ।