इटहरी, / नेकपा (एमाले) इटहरी उपमहानगर कमिटी अन्तर्गत इटहरी वडा नम्बर १० वाट सप्ताहव्यापी वृक्षारोपण कार्यक्रमको आयोजना गरीएको छ। जलवायु परिवर्तनको चुलिंदो असरलाई ध्यानमा राखी आयोजित कार्यक्रममा स्थानीय नेताहरू, कार्यकर्ताहरू, महिला संघका सदस्यहरू, युवाहरू तथा सर्वसाधारण नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा इटहरी उपमहानगर अध्यक्ष रूपेश बस्नेतले पार्टी अब भाषण र छलफलमा मात्र सीमित नरही जनसङ्ग प्रत्यक्ष सम्पर्कमा रही काम गर्ने दिशामा अघि बढिरहेको जानकारी गराए। उनले वृक्षारोपण जस्ता सामाजिक अभियानहरू पार्टीको प्राथमिकतामा रहेको बताए।

नेकपा (एमाले) इटहरी इन्चार्ज कोशी प्रदेश सदस्य प्रमोद शेर्पाले भने, “पार्टी चुनावको वेला मात्र हैन, जनताको समस्या, प्रकृति संरक्षण जस्ता सामाजिक कार्यमा पनि निरन्तर सक्रिय हुनुपर्छ।”
कार्यक्रममा महिला नेतृहरू, युवाहरू, स्थानिय समाजसेवीहरूको समेत उल्लेखनीय सहभागिता देखिएको थियो। सहभागीहरूले विभिन्न प्रजातीका बिरुवाहरू रोपेका छन् जसले भविष्यमा हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रमलाई सफल बनाउन वडा नं. १० को वडाअध्यक्ष, स्थानीय टोल विकास संस्था, विद्यार्थीहरू र स्वयंसेवकहरूको महत्वपूर्ण भूमिका रहेको थियो।
