इटहरी । ताप्लेजुङको दोस्रो ठुलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको छ । मेरिङ्देन गाउँपालिका–३ मा रहेको ऐतिहासिक र व्यापारिक केन्द्र दोभान बजारलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको हो ।  जनतासँग जनप्रतिनिधि तथा दोभान बजारको पर्यटन प्रवर्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममार्फत दोभान बजारलाई पर्यटकीय गन्तव्यका रूपमा लैजाने प्रतिबद्धता जनाइएको छ । कार्यक्रममा मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङवीर हाङ्गाम डम्बर, उपाध्यक्ष दुर्गाहाङ श्रेङचोङ्बाङ, योजना शाखा प्रमुख रत्नेश्वर यादव, मेरिङ्देन गाउँपालिका–३ का वडाध्यक्ष गजेन्द्रकुमार नाल्बोसहितका जनप्रतिनिधि साथै सरोकारवाला र स्थानीयको उपस्थितिमा दोभान बजारलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सात प्रतिबद्धता जाहेर गरिएको छ ।

जसमा दोभान बजारलाई सफा, सुन्दर र शान्त बनाई पर्यटकीय क्षेत्रको आकर्षक गन्तव्यका रूपमा विकास गर्न स्थानीयवासीले आफ्नो घरका साथै नजिकको क्षेत्रमा भएका फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गरिएको छ । तमोर नदी तथा मौवाखोला किनारमा बस्ती रहेकाले यी दुवै खोला तथा नदी कटानबाट बजारलाई जोखिम कम गर्न पालिकाले प्रदेश सरकार तथा सङ्घीय सरकारको सहयोगमा तटबन्धन  कार्यक्रम प्रभावकारी रूपमा गर्न पहल गरिने भएको छ । यस्तै जलचर संरक्षणका अभियानलाई व्यापक बनाइने, विद्युतीय करेन्टबाट माछासहितको जलचर मर्ने कार्यलाई पूर्ण रूपमा निषेध गरिने, बजारमा सञ्चालित होटेललाई व्यावसायिक मापदण्डको दायरामा ल्याई व्यावसायिक अभिवृद्धिका लागि उचित कार्यव्रmम सञ्चालन गरिने भएको छ ।

साथै ¥याफ्टिङ सञ्चालनका लागि आवश्यक पहल गरिने, घरबास सञ्चालनमा ल्याउने र धार्मिक विविधतालाई ध्यानमा राखी संस्कृत झल्कने तस्बिरसाथै चित्रको व्यवस्था गरिने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । दोभान बजारलाई जिल्लाको दोस्रो ठुलो र ऐतिहासिक साथै व्यापारिक केन्द्रका रूपमा परिचित छ ।