इटहरी । शिक्षा विकास तथा समन्वय इकाई भोजपुरले एसइईको नतिजाको अवस्था सार्वजनिक गरेको छ । मंगलबार माध्यमीक शिक्षा परिषद् शैक्षिक सत्र २०८१ मा कक्षा १० अर्थात् एसइईमा भोजपुर जिल्लाबाट प्राप्त नतिजा, उपलब्धि तथा विद्यालयहरूको अवस्थाको बारेमा जानकारी दिने उद्देश्यले आयोजित समीक्षा कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ भोजपुरका इकाइ प्रमुखले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षामा जिल्लाभरिका सामुदायीक विद्यालय ७० वटा र संस्थागत विद्यालय ५ वटा गरी कुल ७५ वटा विद्यालयको सहभागिता रहेको थियो । परीक्षामा कुल २ हजार ९८ जना विद्यार्थीहरु सहभागी भएका थिए । जसमा ७ सय ४७ जना पास र नन ग्रेड १ हजार ३ सय ५१ जना गरी कुल प्रतिशतको ३५ दशमलव ६ प्रतिशत पास भएको इकाइ प्रमुख राम प्रसाद अधिकारीले जानकारी दिनुभयो । जिल्लामा रहेका ७५ वटा विद्यालयहरू मध्ये चार वटा सामुदायीक र चार वटा संस्थागत विद्यालयहरूले शत प्रतिशत नतिजा प्राप्त गरे भने ४ वटा विद्यालयको नतिजा शून्य रहेको छ । त्यस्तै एसइईमा जिल्ला भरिका ९ वटा पालिका मध्ये भोजपुर नगरपालिकाको ७५ दशमलव ६८ प्रतिशत विद्यार्थी पास भएका छन् । क्रमशः आमचोक गाउँपालिकाको २१ दशमलव १५ प्रतिशत, अरुण गाउँपालिकाको २५ दशमलव ९३ प्रतिशत, हतुवागढि गाउँपालिकाको २८ दशमलव १ प्रतिशत, पौवादुङमा गाउँपालिकाको २१ दशमलव ३९ प्रतिशत, रामप्रसादराई गाउँपालिकाको १६ दशमलव ७८ प्रतिशत, षडान्नद नगरपालिकाको २४ दशमलव ८८ प्रतिशत, साल्पासिलिछो गाउँपालिकाको २४ दशमलव ९ प्रतिशत र टेम्केमैयुङ गाउँपालिकाको ४० दशमलव ६९ प्रतिशत पास भएको समेत इकाई प्रमुख अधिकारीले बताउनुभयो । जिल्ला शिक्षा समितिको संयोजक तथा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले जिल्लामा एसइईको नतिजा सुधारका लागी आवश्यक गृहकार्य गर्न आवश्यक रहेको, सामुदायिक विद्यालयका पठनपाठनको अवस्था सुधारका लागी वार्षिक कार्यपालिका निमार्ण, पाठ्यपुस्तकको पर्याप्तता, शिक्षकहरूलाई प्रशिक्षण लगायत कार्यक्रमहरू आयोजना गर्न आवश्यक रहेको औँल्याउनुभयो । जिल्ला शिक्षा समितिको सदस्य तथा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जिल्ला भरीका पालिकाको शैक्षिक अवस्थाका आधारमा सबै पालिकाहरूको सयुक्त सहभागीतामा शैक्षिक सुधार कार्यक्रम, बहस तथा जिम्मेवारी बोधका कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
